
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारसहित चार अंक जोडेको छ। प्लेअफको सम्भावना बलियो बनाउन सुदूरपश्चिमलाई आजको खेल जित्नुपर्ने दबाब छ। यता तीन खेल खेलेको कर्णालीले एक जित र दुई हार बेहोरेको छ। चौथो खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्य कर्णालीको हुनेछ।
त्यस्तै, आजै साँझ ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ। तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ। आजको जितले चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर दिनेछ।




अर्कोतर्फ पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघिका खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा आज चितवनलाई पराजित गर्दै जितको खाता खोल्ने दाउमा हुनेछ।
आजका दुवै खेल अंक तालिकाको समीकरण र प्लेअफ यात्राका दृष्टिले महत्त्वपूर्ण मानिएका छन्। त्यसैले चारै टोली जितका लागि प्रतिस्पर्धा गर्नेछन्।



































