
नेपालीको दोस्रो ठूलो चाड तिहार आज (शुक्रबार) देखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घरमा नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा भित्र्याएर पूजा गर्दै धनतेरस मनाइँदैछ। धनतेरसका दिन सुनचाँदी तथा धातुका सामग्री खरिद गर्दा घरमा सुख, समृद्धि र धनधान्य बढ्ने धार्मिक विश्वास छ।

यस वर्ष तिथिको घटबढका कारण परम्परागत पाँच दिन मनाइने तिहार छ दिनसम्म चल्ने भएको छ। त्रयोदशी तिथिमा गरिने कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा गरिने कार्यक्रम छ। त्यसैगरी, कात्तिक २५ गते भाइटीका मनाइनेछ।
पण्डित नारायणप्रसाद दुलालका अनुसार आज सूर्योदयका बेला द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस आजै मनाउन लागिएको हो। आज बिहान ११ बजेर १० मिनेटपछि सुरु भएको त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।




मिथिला क्षेत्रमा त्रयोदशीका दिन साँझ दीपमालिका गर्ने परम्परा पनि छ। यस दिन धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँ खरिद गर्ने चलनसमेत रहेको छ।
यता, धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बबरमहलस्थित कार्यालयबाट सुनचाँदीका सिक्का बिक्रीलाई आज पनि निरन्तरता दिँदैछ। बैंकले बिहीबारदेखि नै सिक्का बिक्री सुरु गरेको हो।



































