
दक्षिण अफ्रिकी विस्फोटक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु खेलमै अविजित ९३ रनको शानदार इनिङ्स खेले पनि कर्णाली याक्सले सुदूरपश्चिम रोयल्ससँग ३९ रनको हार बेहोरेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो। मिलरले ५५ बलमा ५ चौका र ७ छक्कासहित ९३ रन बनाए पनि उनलाई अन्य ब्याटरले साथ दिन सकेनन्। दीपक डुम्रेले १८ रन जोड्दा अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। उसका लागि सैफ जैबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, इशान पाण्डेले २३ तथा थरिन्दु रत्नायकेले अविजित २२ रन बनाए। जैब र विनोदले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।




बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ तथा अन्य पाँच बलरले एक–एक विकेट लिए।
यस जितसँगै पाँच खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बेहोरेको कर्णाली चार अंकसहित पाँचौँ स्थानमा झरेको छ।



































