
बैतडीः शारीरिक रूपमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने बैतडीको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले सञ्चालन गरेको यस कार्यक्रममार्फत दुई महिनाको अवधिमा ११ जनाले नागरिकता प्राप्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार बिहीबार मात्रै पाँच जनालाई नागरिकता प्रदान गरिएको हो।
कार्यक्रमअन्तर्गत सुर्नया गाउँपालिका–८ कठमडाकी ७३ वर्षीया धाना साउँदलाई घरनजिकै ढोल्यामोडमा पुगेर नागरिकता दिइएको छ। नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुँदै आएकी थिइन्।




त्यस्तै, सिगास गाउँपालिका–२ की १६ वर्षीया मनिषाकुमारी धामी, १९ वर्षीय मुकुन्दसिंह धामी र १६ वर्षीय वसन्त नेपालीलाई वडा कार्यालयमै पुगेर नागरिकता प्रदान गरिएको छ। सिगास गाउँपालिका–१ का १६ वर्षीय रन्जित भुललाई पनि घरपायक पर्ने स्थानमै सेवा उपलब्ध गराइएको छ।
शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न कठिनाइ हुने नागरिकलाई सहज सेवा दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्।
नागरिकताबाट वञ्चित अशक्त तथा अपाङ्गता भएका नागरिकको पहिचान गरी सेवा विस्तार गर्न प्रशासनले जिल्लाका सबै वडामा विवरण संकलनका लागि पत्राचारसमेत गरेको जनाएको छ।



































