कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्स प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै प्लेअफ यात्रा पक्का गरेको हो।

CP Hospital Dhangadhi

कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रनको योगदान दिए भने दिलिप नाथले २८ रन बनाए। कर्णालीका मार्क वाटले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। पवन सर्राफ र हुसेन तलातले समान एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमै समेटिएको थियो। उसका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेक गौतमले समान दुई तथा शेर मल्लले एक विकेट लिए।

जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित कर्णाली भने ६ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ।