
दीपावली सकिएसँगै मिथिला क्षेत्रमा आस्था र निष्ठाको पर्व छठको रौनक छाएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने चारदिने पर्वका लागि महोत्तरीसहित मिथिलाका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ। स्थानीयवासी नदी, पोखरी तथा जलाशयका किनारमा छठघाट निर्माण, सरसफाइ र सजावटमा जुटेका छन्। घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् भने सडक र सार्वजनिक स्थल झिलिमिली बत्तीले सजाइएका छन्।

छठलाई लक्षित गरी बजारमा केराका घरी, उखु, अदुवा, बेसार, ज्यामिरलगायत पूजासामग्रीको बिक्री बढेको छ। बाँसबाट बनाइएका ढकी, डलिया, कोनियाँ तथा माटाका दियो, गाग्री र अन्य भाँडाकुँडाको मागसमेत बढेको छ। पर्वका लागि आवश्यक सामग्री किन्नेको भीडले बजारमा चहलपहल थपिएको छ।
यता घरघरमा ठकुवा, भुसुवालगायत परम्परागत प्रसाद बनाउने तयारी तीव्र छ। गृहिणीहरू चामल र गहुँको पिठो तयार गर्न व्यस्त छन्। छठमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइन्छ।
चार दिनसम्म मनाइने पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ। सामाजिक सद्भाव, समानता र एकताको सन्देश दिने छठमा सबै समुदायका मानिस एकै ठाउँमा भेला भएर पूजा गर्ने परम्परा छ।





























