
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार दुई महत्त्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दा दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान बलियो बनाउनु हुनेछ। समान ८ अंक जोडेका काठमाडौँ र सुदूरपश्चिम क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। काठमाडौँ पछिल्ला चार खेलमा लगातार विजयी भएको छ भने सुदूरपश्चिमले पनि पछिल्ला खेलमा लय समातेको छ। काठमाडौँका डेभिड वार्नर र राशिद खान तथा सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन र डेभिड मिलर मुख्य आकर्षण रहनेछन्। यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमले काठमाडौँलाई पराजित गरेको थियो।
यस्तै, साँझ ५ बजे चितवन र जनकपुरबीच प्रतिस्पर्धा हुनेछ। ५ अंकसहित चौथो स्थानमा रहेको चितवन जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ। ४ अंकसहित पाँचौँ स्थानमा रहेको जनकपुरलाई भने प्लेअफ दौडमा रहन जित्नैपर्ने दबाब छ।
दुवै खेलको नतिजाले शीर्ष चारमा पुग्ने टोलीको समीकरणलाई थप रोचक बनाउनेछ। अघिल्ला दुई संस्करणमा चितवन र जनकपुरबीचको नतिजा १–१ को बराबरीमा छ।





























