डोटीको बडीकेदार मेलामा नवजीवन हस्पिटलको निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा

Image
Nisarga Hospital

डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार धाममा आगामी मंसिर ५, ६ र ७ गते लाग्ने बृहत् मेलामा नवजीवन हस्पिटलले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामध्ये डोटीको बडीकेदार गाउँपालिका-५ मा अवस्थित बडीकेदार धाम धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ। थारू समुदायका साथै भारतीय दर्शनार्थीहरूको समेत श्रद्धा र आस्थाको केन्द्र रहेको धाममा मेला अवधिभर ठूलो संख्यामा भक्तजन तथा दर्शनार्थी पुग्ने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

मेलामा आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै नवजीवन हस्पिटलले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गर्ने भएको हो। हस्पिटलले मेलास्थलमै निःशुल्क विशेषज्ञ स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा प्राथमिक उपचार सेवा उपलब्ध गराउने हस्पिटलका कार्यकारी निर्देशक चक्र खडायतले जानकारी दिए। सुदूरपश्चिमको तराई क्षेत्रबाट सहजै पुग्न सकिने धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा बडीकेदार धाममा मेलाका बेला ठूलो भीड लाग्ने भएकाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्न लागिएको खडायतले बताए।

मेलास्थल आसपास स्वास्थ्य संस्थाको सहज पहुँच नरहेको अवस्थामा हस्पिटलको यो पहलले आकस्मिक स्वास्थ्य समस्या भएका दर्शनार्थीलाई तत्काल उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बमले बताए। चिसो मौसममा तराईबाट पहाडी क्षेत्रमा पुग्ने दर्शनार्थीलाई स्वास्थ्यसम्बन्धी समस्या हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गर्न लागिएको निःशुल्क स्वास्थ्य सेवाले भक्तजनलाई थप सहजता प्रदान गर्ने अध्यक्ष बमको भनाइ छ।

यसैबीच, मेला अवधिभर स्वास्थ्य सेवा सञ्चालन गर्ने विषयमा बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक गणेशराज जोशी र नवजीवन हस्पिटल प्रालिका कार्यकारी निर्देशक चक्र खडायतबीच सम्झौता भएको छ।