भारतमा आगलागी हुँदा सहयोग गरेको भन्दै धनगढीका मेयर हमाललाई भारतीय नेताको धन्यवाद

Image
Nisarga Hospital

धनगढी: भारतको उत्तर प्रदेशस्थित पलियाको बनगवाँ मण्डीमा दीपावलीका दिन भएको भीषण आगलागीमा तत्काल उद्धार तथा राहत सहयोग पुर्‍याएको भन्दै भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता रवि गुप्ताले धनगढीका मेयर गोपाल हमालप्रति आभार व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

गुप्ता धनगढी उपमहानगरपालिकाको कार्यालयमै पुगेर मेयर हमाललाई धन्यवादपत्र प्रदान गरेका हुन्। उनले भारतीय व्यापारी तथा सीमावर्ती क्षेत्रका नागरिकका तर्फबाट धन्यवाद व्यक्त गरेका थिए।

आगलागीपछि गुप्ताले सहयोगका लागि मेयर हमाललाई फोनमार्फत आग्रह गरेका थिए। त्यसलगत्तै हमालले धनगढीबाट दमकल, जेसीबी र नगर प्रहरीको टोली घटनास्थल पठाएका थिए।

उक्त आगलागीमा ४० देखि ५० वटा पसल जलेर नष्ट हुँदा करिब ३० देखि ४० करोड भारतीय रुपैयाँ बराबरको क्षति भएको गुप्ताले बताएका छन्। नेपालबाट समयमै पुगेको उद्धार टोलीको सहयोगले सयौँ अन्य पसल जोगाउन सफल भएको उनको भनाइ छ।

गुप्ताले संकटका बेला सीमा र राष्ट्रियताभन्दा माथि उठेर मानवीय सहयोग गरेको भन्दै मेयर हमाल र नेपाली प्रशासनप्रति धन्यवाद व्यक्त गरे। उनले भारतमा किनमेलका लागि जाने नेपाली नागरिकलाई अनावश्यक दुःख नदिनसमेत आग्रह गरेका छन्। उक्त घटनाले नेपाल–भारतबीचको सीमापार सहयोग र आपसी सद्भावलाई थप उजागर गरेको छ।