
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–४ बास्कोटामा आयोजित तेस्रो जेवाईसी कप–२०८३ नगरस्तरीय क्रिकेट तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कात्तिक २७ गतेदेखि सुरु भएको प्रतियोगितामा क्रिकेटतर्फ वडा नम्बर १० को न्यु सिताराम युवा क्लब र महिला भलिबलतर्फ बुढीतोलास्थित लक्ष्मी माध्यमिक विद्यालयले उपाधि जितेका छन्।

सोमबार सम्पन्न प्रतियोगिताको क्रिकेटतर्फ १० टोलीको सहभागिता रहेको थियो। फाइनलमा वडा नम्बर १० को टोलीले आयोजक वडा नम्बर ४ लाई पराजित गर्दै उपाधि हात पारेको हो। विजेता टोलीले नगद ४१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक टोलीले २१ हजार रुपैयाँ पुरस्कार पाएको छ।
त्यस्तै, ६ टोली सहभागी वडा स्तरीय महिला भलिबल प्रतियोगितामा लक्ष्मी माध्यमिक विद्यालय, बुढीतोलाले प्रथम स्थान हासिल गरेको छ। विजेता टोलीले २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा आयोजक टोली दोस्रो हुँदै ११ हजार रुपैयाँमा चित्त बुझाएको छ।
प्रतियोगिताको समापन कार्यक्रममा गोदावरी नगरपालिका–४ का वडाध्यक्ष हेमप्रकाश मल्लले खेलकुदले युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै लागूऔषधलगायतका दुर्व्यसन न्यूनीकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
ज्वाला देवी युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका वडा नम्बर ४ को कार्यालय रहेको थियो।































