इटालीले सन् २०२७ मा १ लाख ६५ हजारभन्दा बढी विदेशी कामदार भित्र्याउने, नेपालीका लागि पनि खुल्न सक्छ अवसर

Image
Nisarga Hospital

युरोपेली मुलुक इटालीले सन् २०२७ का लागि १ लाख ६५ हजार ८५० जना विदेशी कामदारलाई रोजगारीका लागि प्रवेश अनुमति दिने भएको छ। कृषि, पर्यटन, होटल, निर्माण, उद्योग तथा घरेलु हेरचाहलगायत क्षेत्रमा कामदार भित्र्याउन सरकारले नयाँ कोटा निर्धारण गरेको हो।

CP Hospital Dhangadhi

इटालीको ‘डिक्रेटो फ्लुसी’ कार्यक्रमअन्तर्गत नियमित तथा गैरमौसमी रोजगारीका लागि ७६ हजार २००, कृषि र पर्यटन क्षेत्रको मौसमी कामका लागि ८९ हजार तथा स्वरोजगारका लागि ६५० कोटा छुट्याइएको छ।

रोजगारदाताले सन् २०२६ अक्टोबर २३ देखि डिसेम्बर ७ सम्म प्रारम्भिक आवेदन विवरण भर्न सक्नेछन्। त्यसपछि रोजगारीको क्षेत्रअनुसार सन् २०२७ जनवरी १२, फेब्रुअरी ९, १६ र १८ देखि औपचारिक आवेदन प्रक्रिया सुरु हुनेछ। यी मितिलाई ‘क्लिक डे’ भनिन्छ।

नेपाली कामदारका लागि भने सबै कोटा खुला छैनन्। केही मौसमी रोजगारी निश्चित देशका नागरिकका लागि छुट्याइएका छन्। तर गैरमौसमी रोजगारीतर्फ १० हजार ९०० र पारिवारिक हेरचाहतर्फ १४ हजार कोटा विशेष देशका लागि आरक्षित नरहेकाले योग्य नेपालीका लागि सम्भावना रहन सक्छ।

यस प्रक्रियामा कामदारले आफैँ आवेदन दिन पाउँदैनन्। इटालीस्थित रोजगारदाताले कामदारका तर्फबाट अनुमति माग्नुपर्छ। ‘नुल्ला ओस्ता’ स्वीकृत भएपछि मात्र कार्यभिसाको प्रक्रिया अघि बढ्छ।

इटालीले कोटा घोषणा गर्दैमा रोजगारी वा भिसा सुनिश्चित नहुने भएकाले नेपाली कामदारलाई बिचौलियाको प्रलोभनमा नपरी आधिकारिक प्रक्रिया र रोजगारदाताको वैधानिकता जाँच गर्न आग्रह गरिएको छ।