
हाल नेपालमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न भूभागमा आंशिक बदली, हुस्सु तथा कुहिरोको अवस्था देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचका धेरै स्थानमा बिहानैदेखि तुवाँलो र हुस्सु लागेको छ।
आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले यातायात तथा दैनिक जनजीवनमा सतर्कता अपनाउनुपर्ने देखिन्छ।






























