एनपीएल फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवन भिड्दै, जित्ने टोली लुम्बिनीसँग उपाधिका लागि खेल्ने

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाउन आज बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

CP Hospital Dhangadhi

पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुगिसकेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो।

यता, चितवनले बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित १२० र रवि बोपाराको ५३ रनको मद्दतमा २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो।

२०५ रनको लक्ष्य पछ्याएको काठमाडौं रिजन ढकालको चार र उसामा मिरको तीन विकेटको बलिङसामु १४३ रनमै समेटिएको थियो।

उत्कृष्ट प्रदर्शनसहित दोस्रो क्वालिफायरमा पुगेको चितवन पहिलोपटक एनपीएलको फाइनल पुग्ने लक्ष्यमा छ। यता, सुदूरपश्चिम भने पहिलो क्वालिफायरको हारलाई बिर्साउँदै लगातार तेस्रोपटक फाइनल पुग्ने प्रयासमा हुनेछ।

सुदूरपश्चिम यसअघि पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको थियो। त्यसैले यसपटक टोली तेस्रो प्रयासमा उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ।