
कञ्चनपुरका किसान परम्परागत धान, गहुँलगायत खाद्यान्न बाली छाडेर व्यावसायिक उखु खेतीतर्फ आकर्षित हुन थालेका छन्। अन्य बालीको तुलनामा उखु खेतीबाट राम्रो आम्दानी हुने र बजारको समेत समस्या नहुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन्।

भीमदत्त नगरपालिका–७ का धनसिंह ठगुन्ना उखु खेतीबाट राम्रो आम्दानी हुने देखेपछि व्यावसायिक खेतीमा लागेका छन्। सुरुमा दुई बिघा जग्गाबाट खेती सुरु गरेका उनले अहिले १२ बिघा जग्गा भाडामा लिएर उखु खेती गरिरहेका छन्। तीन जना मिलेर खेती गर्दै आएका ठगुन्नाका अनुसार उखु खेतीमा धान र गहुँभन्दा बढी प्रतिफल प्राप्त गर्न सकिन्छ।
उनका अनुसार धान र गहुँ खेतीबाट सबै खर्च कटाउँदा एक बिघामा बढीमा ४० हजार रुपैयाँ आम्दानी हुने गरेको छ। तर, उखु खेतीबाट राम्रो उत्पादन भए एक बिघामा सबै खर्च कटाएर तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ। पहिलो सिजनमा भने प्रतिबिघा करिब एक लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए।
उखु खेतीको अर्को विशेषता एक पटक रोपेको उखुको जराबाट पलाउने मुनाबाट लगातार तीन सिजनसम्म उत्पादन लिन सकिने हो। यसले प्रत्येक वर्ष नयाँ रोपाइँ गर्नुपर्ने झन्झट र लागत घटाउने गरेको किसानको अनुभव छ। उत्पादित उखु बेलौरीस्थित महाकाली सुगर मिलमा बिक्री हुने गरेको छ। मिलले किसानलाई उखुको बीउ र कीटनाशक औषधिसमेत उपलब्ध गराउँदै आएको छ।
त्यस्तै, स्थानीय किसान तारा महरा पनि तीन वर्षदेखि व्यावसायिक उखु खेतीमा संलग्न छन्। उनले दुई बिघा जग्गामा बिक्रीका लागि उखु तयार पारेका छन् भने थप १० बिघामा बीउ रोपिरहेका छन्। उखु खेतीबाट सिजनमा २० देखि २५ जनाले रोजगारीसमेत पाउने गरेको उनले बताए।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लामा पाँच हजार ६६० हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ। उक्त क्षेत्रफलबाट वार्षिक तीन लाख ४५ हजार २६० मेट्रिक टन उखु उत्पादन हुने गरेको छ। जिल्लामा उखुको उत्पादकत्व प्रतिहेक्टर ६१ मेट्रिक टन रहेको छ।





























