कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले केन्द्रीय उपसभापतिमा उम्मेदवारी दिने घोषणा

Image
Nisarga Hospital

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले पार्टीको केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन नजिकिँदै गर्दा बलायरले केन्द्रीय उपसभापति पदमा प्रतिस्पर्धा गर्ने तयारी अघि बढाएका हुन्।

CP Hospital Dhangadhi

मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना हुने कांग्रेसको १५औँ नियमित महाधिवेशनलाई लक्षित गर्दै उनले उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन्। बलायरले आफू केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेको उल्लेख गर्दै पार्टीका नेता तथा महाधिवेशन प्रतिनिधिहरूको सहयोग, समर्थन र सद्भावको अपेक्षा गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका बलायर सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको संगठन विस्तार र सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका नेता हुन्। प्रदेश सभापतिको जिम्मेवारी सम्हालेपछि उनले पार्टी संगठनलाई थप व्यवस्थित र बलियो बनाउने प्रयास गरेका छन्। केन्द्रीय राजनीतिमा समेत प्रभावशाली भूमिका राख्ने बलायरलाई कांग्रेसभित्र अनुभवी नेताका रूपमा हेरिन्छ।

पार्टीभित्र पछिल्लो समय देखिएको राजनीतिक विवाद र नेतृत्वबीचको मतभेदका विषयमा पनि बलायरले आफ्नो धारणा स्पष्ट रूपमा राख्दै आएका छन्। सभापति शेरबहादुर देउवामाथि अन्याय भएको बताउँदै आएका उनी पार्टीको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा दृढतापूर्वक उभिँदै आएका छन्।

बलायर कांग्रेसभित्र सालीन, भद्र र राजनीतिक संस्कारलाई प्राथमिकता दिने नेताका रूपमा परिचित छन्। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा व्यक्तिगत आरोप–प्रत्यारोप र गालीगलौजभन्दा विधि, विधान, प्रक्रिया र राजनीतिक मर्यादालाई महत्त्व दिनुपर्ने उनको धारणा रहँदै आएको छ।

उनले राजनीतिक इमानदारिता, संगठनप्रतिको प्रतिबद्धता र पार्टीको संस्थागत पद्धतिलाई आत्मसात् गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्दै आएका छन्। नियमित महाधिवेशनमार्फत पार्टीलाई विधि र प्रक्रियाअनुसार अगाडि बढाउनुपर्ने अडान राख्दै आएका बलायरको उपसभापति पदमा उम्मेदवारी घोषणालाई सुदूरपश्चिमको कांग्रेस राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

उनको उम्मेदवारीले आसन्न महाधिवेशनमा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व र केन्द्रीय नेतृत्वमा प्रदेशको प्रभाव बढाउने विषयलाई समेत चर्चामा ल्याएको छ। अब महाधिवेशनमा बलायरले कस्तो समर्थन जुटाउँछन् भन्ने विषय चासोको रूपमा रहनेछ।