
बैतडीको मेलौलीस्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ऐतिहासिक देहीजातलाई लक्षित गर्दै मेलौली नगरपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले जात्राको अवसरमा आगामी मंसिर ७ र ८ गते नगरपालिका क्षेत्रभित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको हो।

धार्मिक आस्था, स्थानीय संस्कृति र परम्परासँग जोडिएको देहीजातमा स्थानीयवासीसहित बैतडी र आसपासका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन तथा दर्शनार्थी सहभागी हुने भएकाले सहज सहभागिताका लागि बिदा दिइएको नगरपालिकाले जनाएको छ।
यसैबीच, जात्रालाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न नगरपालिकाले मंसिर ७ र ८ गते मन्दिर आसपासका क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ।
नगरपालिकाका अनुसार जात्राका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्नुका साथै धार्मिक तथा सांस्कृतिक वातावरण कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम मदिराको कारोबार तथा सेवनमा रोक लगाइएको उल्लेख गर्दै निर्णय उल्लंघन गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
मेलौली भगवती मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका अवसरमा परम्परागत रूपमा देहीजात लाग्ने गर्दछ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यस जात्रालाई सभ्य, भव्य र व्यवस्थित बनाउन नगरपालिकाले स्थानीयवासी, व्यवसायी तथा सम्पूर्ण सरोकारवालालाई नियम पालना गरी सहयोग गर्न आग्रह गरेको छ।






























