
नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको प्रतियोगिता यात्रा समाप्त भएको हो ।

पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालको ब्याटिङ निकै कमजोर रह्यो । ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए भने बसिर अहमदले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका ६ खेलाडी शून्य रनमै आउट भए ।
पाकिस्तानका मोहम्मद हस्नेन र सुफ्या मोकिमले समान ३ विकेट लिए । इमरान रान्धवाले २ तथा माज सदाकतले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि रोहेल नाजिरले अविजित ६४ रनको योगदान दिए ।
नेपालका रासिद खानले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । उनले ८ ओभरमा ३९ रन खर्चिए । यो उनको लिस्ट ‘ए’ करियरको पहिलो पाँच विकेट प्रदर्शन हो । डेब्यू गरेका अभिशेष गौतमले २ तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १ विकेट लिए ।
नेपालले पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईलाई हराएको थियो । तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको नेपाल समूह ‘बी’ बाट बाहिरिएको हो ।
तीनवटै खेल जितेको पाकिस्तान समूह विजेता र भारत उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।



























