
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को नयाँ वडा कार्यालय भवन निर्माण कार्य अघि बढेको छ। शुक्रबार नगर प्रमुख वीरेन्द्र भट्टले एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन्। नयाँ भवन निर्माणसँगै वडाबाट प्रदान गरिने प्रशासनिक तथा सार्वजनिक सेवा प्रवाह थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

भवन निर्माणका लागि आभव बिल्डर्स प्रा.लि.ले मूल्य अभिवृद्धि कर (भ्याट) सहित ६२ लाख ९१ हजार ११४ रुपैयाँमा ठेक्का पाएको छ। सम्झौता अगावै निर्माण सम्पन्न गर्ने निर्माण पक्षले जनाएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले नागरिकलाई आफ्नै वडाबाट सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता भएको बताए। वडा कार्यालयको आफ्नै व्यवस्थित भवन निर्माण भएपछि सेवाग्राहीलाई सेवा लिन सहज हुने र कर्मचारीलाई पनि नियमित प्रशासनिक काम सञ्चालन गर्न सुविधा पुग्ने उनको भनाइ थियो। उनले निर्धारित समय र गुणस्तरअनुसार निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई आग्रहसमेत गरेका थिए।
त्यस्तै, वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले वडा कार्यालयको पर्याप्त भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा विभिन्न समस्या हुँदै आएको बताए। नयाँ भवन निर्माण भएपछि वडावासीले प्रशासनिक सेवा लिन सहज हुने र वडा कार्यालयका कामकाज थप व्यवस्थित हुने उनले विश्वास व्यक्त गरे।
वडाध्यक्ष शाहीका अनुसार वडाका सबै क्षेत्रका नागरिकलाई सहज पहुँच हुने स्थान छनोट गर्न सर्वदलीय सहमति गरिएको हो। सबै राजनीतिक दल तथा सरोकारवालाबीचको सहमतिका आधारमा प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढाइएको उनले बताए।
नयाँ भवन निर्माण सम्पन्न भएपछि वडा कार्यालयबाट प्रदान हुने सिफारिस, दर्ता, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्तालगायतका सेवाहरू व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय तहबाट नागरिकलाई नजिकै र सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको यस योजनाले वडा नम्बर १० को प्रशासनिक सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास गरिएको छ।






























