
डोटीः डोटीको जोरायल गाउँपालिका–२ मिल चौराहस्थित बुडर–जोगबुढा सडकखण्डबाट प्रहरीले ७ किलोभन्दा बढी चरेस बरामद गरेको छ। चरेस ओसारपसारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मिति २०८३ मंसिर ११ गते दिउँसो ३ः२० बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुर र इलाका प्रहरी कार्यालय बुडरको संयुक्त टोलीले शंकास्पद अवस्थामा मोटरसाइकल जाँच गरेको थियो।
बा.७७ प.८७०२ नम्बरको मोटरसाइकलको पछाडि सवार बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ४८ वर्षीय ओमजंगबहादुर कडायतले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ७ किलो ८५ ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक सोही स्थानका २८ वर्षीय वीरेन्द्र जप्रेल र चरेस बोकेका कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डोटीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले घटनाबारे जानकारी दिँदै बरामद लागूऔषध र नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताएका छन्।


























