
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा फेरि राजनीतिक अस्थिरता चुलिएको छ। बजेट विवाद समाधान गर्न नसकेको भन्दै मुख्यमन्त्री खगराज भट्टलाई पदबाट हटाउन उनकै दल नेकपाका असन्तुष्ट सांसदहरू सक्रिय भएका छन्। मुख्यमन्त्रीको विकल्प खोज्दै सांसदहरूले हस्ताक्षर संकलनको तयारी थालेपछि प्रदेश सरकारको भविष्यबारे अन्योल बढेको छ।

प्रदेशमा बजेटसम्बन्धी विवादले यसअघि पनि सरकार परिवर्तन गराएको थियो। तीन महिनासम्म बजेटविहीन अवस्थामा रहेको प्रदेशमा गत असोज २५ गते सरकारले बजेट ल्याएको थियो। तर आफ्नै सांसदहरूको असन्तुष्टिका कारण बजेट पारित गर्न कठिन भएपछि मुख्यमन्त्री भट्टले संसदीय अध्ययन समिति गठन गर्ने र मंसिर १ गतेभित्र पूरक बजेट ल्याउने लिखित प्रतिबद्धता जनाएका थिए।
तर प्रतिबद्धताअनुसार संसदीय समिति गठन हुन सकेको छैन भने पूरक बजेटको प्रक्रिया पनि अघि बढ्न सकेको छैन। सभामुख भीमबहादुर भण्डारीले समेत बजेटमाथि अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए। प्रमुख प्रतिपक्षी कांग्रेसले समितिमा सहभागी हुन सदस्य नपठाएपछि समिति गठन प्रक्रिया रोकिएको बताइएको छ।
बजेट विवादले नेकपाभित्रको आन्तरिक असन्तुष्टिसमेत बढाएको छ। पार्टीले सञ्चालन गर्ने तयारी गरेको राष्ट्रिय जागरण अभियानसमेत तत्कालका लागि स्थगित गरिएको प्रदेश इन्चार्ज भानुभक्त जोशीले बताएका छन्।
नेकपाका असन्तुष्ट सांसदहरूले सरकारको नैतिक आधार कमजोर भइसकेको भन्दै मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन्। सांसद मानबहादुर धामीले सरकार आफैँले गरेका निर्णय कार्यान्वयन नगरेको आरोप लगाउँदै आवश्यक संख्या जुटाएर नेतृत्व परिवर्तनको पहल भइरहेको बताएका छन्। यस घटनाक्रमले सुदूरपश्चिममा पुनः सरकार परिवर्तनको सम्भावना बढाएको छ।



























