
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा ५.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार शनिबार बिहान स्थानीय समयअनुसार ९ः३० बजे म्यानह्याटन बीचनजिकै समुद्रमा भूकम्प गएको हो।

समुद्रको पिँधमा गएको भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १२ किलोमिटर गहिराइमा रहेको थियो। यसको धक्का लस एन्जलसलगायत आसपासका विभिन्न क्षेत्रमा महसुस गरिएको थियो। अचानक आएको कम्पनपछि स्थानीय बासिन्दा त्रसित भएका थिए।
भूकम्पका कारण लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारीमा रहेका तथा
आकाशमा उडिरहेका केही विमानलाई अन्यत्र डाइभर्ट गरिएको थियो। विमानस्थलको एउटा मुख्य टर्मिनलको छतबाट सिसा र टायल खसेपछि केही समय भागदौडसमेत मच्चिएको थियो।



























