
सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ह्याट्रिकसहित पाँच गोल गरेपछि पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको बिहीबार खेलिएको खेलमा नेपाली महिला टोलीले इराकमाथि ५-० को सजिलो जित हात पारेको छ ।

खेलको प्रारम्भदेखि नै नेपालले इराकलाई दबाबमा राखेको थियो । सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन् । निर्धारित समयको १४औँ मिनेटमा पहिलो गोल गरिन् । त्यसको एक मिनेटपछि नै उनले नेपालको अग्रता दोब्बर बनाइन् ।
सावित्राले खेलको ३६औँ मिनेटमा तेस्रो र ४३औँ मिनेटमा चौथो गोल गरेकी थिइन् । खेलको दोस्रो हाफमा पनि नेपालले एक गोल थपेको थियो । नेपालका लागि पाँचौँ गोल पनि सावित्राले नै गरिन् । उनले पाँचौँ तथा अन्तिम गोल निर्धारित समयको ७९औँ मिनेटमा गरेकी थिइन् ।




आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएको नेपालले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो । लगातार दोस्रो जितसँगै नेपाली टोलीले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।
साउदी अरेबियामा जारी उक्त प्रतियोगितामा नेपाल, इराक, प्यालेस्टाइन र सिरिया समूह ‘बी’ मा रहेका छन् । यसअघि खेलिएको समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपाली टोलीले सिरियालाई ४-१ गोलको फराकिलो अन्तरले हराएको थियो ।


































