
अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै अल्पमतमा परेका शाहले शुक्रबार मात्र नाउपाका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए । नाउपाका कैलाश चौधरीलाई राज्यमन्त्रीबाट हटाएका उनले घनश्याम चौधरीलाई आर्थिक मामिला र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए ।

नाउपाकै रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । सोमबार लक्ष्मणकिशोरले मन्त्रीको सपथ लिएपछि नाउपाका ७ मध्ये ५ सांसद सरकारमा पुगेका छन् । कैलाश चौधरी र टीका थापा मात्र सरकारबाहिर छन् । त्यसमा पनि कैलाश त शुक्रबारसम्म राज्यमन्त्री थिए ।
नाउपाका एकपछि अर्को सांसदलाई मन्त्री बनाएका मुख्यमन्त्री शाहले बहुमत जुटाउन छलफल भइरहेको बताएका छन् । राप्रपाकी खेमादेवी विष्ट, स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीलाई पनि मन्त्री नियुक्त गर्ने उनको तयारी छ । २१ फागुनमा केन्द्रमा सरकारको नेतृत्व गरेको माओवादीले एमालेसँग नयाँ गठबन्धन बनाएसँगै मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादीका तीन जना मन्त्रीलाई बर्खास्त गरेका थिए । एकीकृत समाजवादीले पनि मन्त्रीलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाह बहुमत जुटाउने कसरतमा छन् ।
५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८ र नाउपाका ७ सांसद छन् । राप्रपा र एक स्वतन्त्र सांसदको समर्थन जुटाउने हो भने मुख्यमन्त्री शाहलाई टुप्लुक्क (२७) मत पुग्छ । शुक्रबार मन्त्री हेरफेरसँग नाउपामा विवाद देखिएको थियो । संरक्षकको भूमिकामा रहेका रेशम चौधरी मुख्यमन्त्री शाहका पक्षमा उभिए ।
उनकै जोडबलमा मन्त्री हेरफेर भएको थियो । तर अध्यक्ष रञ्जिता चौधरीले सल्लाह नगरी सरकारमा गएको भन्दै फिर्ता हुन निर्देशन दिएपछि नाउपा मात्र होइन, मुख्यमन्त्री शाह समेत अठ्यारोमा परेका थिए । तर सोमबार लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरेसँगै नाउपाको विवाद पनि मिलेको नेताहरुको दाबी छ । मन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै चौधरीले पार्टीभित्र भएको समझदारीअनुसार आफू सरकारमा गएको बताए । ‘





























