
बैतडी:माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनेको संख्या बैतडीमा प्रत्येक बर्ष घट्दै पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बैतडीकाे पछिल्लो तीन बर्षको तथ्यांक हेर्दा हरेक बर्ष एसईई दिने परीक्षार्थीको संख्या घट्दै गएको पाइएकाे हाे।

वि स २०७८ सालमा यहाँबाट ५ हजार ५ सय जना परीक्षार्थीले एसईई दिएका थिए । गत बर्ष ५ हजार ३ सय ५१ जना परीक्षार्थी एसईईमा सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयो ।
जसमा २ हजार ६ सय ६२ छात्र र २ हजार ६ सय ८९ छात्रा रहेका थिए ।
यो बर्षको एसईईमा बैतडीबाट बर्ष २ हजार ४ सय ५८ छात्र र २ हजार ६ सय ३० छात्रा गरेर ५ हजार ८७ परीक्षार्थी सहभागी हुनेछन् ।




पहाडी जिल्लाहरुबाट भइरहेको बसाइसराई,बालबिवाहका कारणले समेत यस्तो समस्या आएको हुन सक्ने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो।
धेरै जसो बालबालिकाहरु शिक्षा ग्रहणका लागि तराईतिर जाने प्रवृति बढेकाले पहाडमा विद्यार्थीहरुको संख्या कम हुँदै गएको हाे । उहाँले भन्नुभयाे,”बसाइँसराइका साथै,बालबिवाहका कारण बर्सेनि एसईई दिनेकाे संख्या घटेकाे हाे।,”
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा ध्यान नजाँदा विद्यार्थी पलायन हुने क्रम बढ्दै गएको छ।
यसैबीच बिहीबारदेखि सञ्चालन हुने यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को बैतडीमा तयारी पूरा भएको छ । जिल्लाका २५ ओटै केन्द्रमा आवश्यक सबै सामग्री पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ।
बिहीबार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ । बैतडीमा एसईईका लागि २५ ओटा केन्द्र निर्धारण गरिएका छन् । ती केन्द्रहरुमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाइएको छ ।
यस्तै परीक्षालाई मार्यादित, भयरहित, शान्त र स्वच्छ वातावरणमा सम्पन्न गर्न हरेक केन्द्रहरुमा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । यसका साथै माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिका पदाधिकारीहरुले परीक्षाको अनुगमन गर्ने प्रमुख अवस्थीले बताउनुभयो ।
बैतडीमा यो बर्ष २ हजार ४ सय ५८ छात्र र २ हजार ६ सय ३० छात्रा गरेर ५ हजार ८७ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । साधारणतर्फ २ हजार २ सय ४ जना छात्र र २ हजार ४ सय छात्रा परीक्षामा सहभागी हुनेछन् भने ग्रेडवृद्धितर्फ ९४ छात्र र १ सय १६ छात्रा गरेर २ सय १० जना सहभागी हुने सूचना अधिकारी शर्माले बताए ।
यस्तै बैतडीमा प्राविधिकधारतर्फ १ सय ५९ छात्र र १ सय १४ छात्रा गरेर २ सय ७३ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ ।
परीक्षाको आवश्यक सबै तयारी पूरा भएकाले निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरिएको छ । यसका साथै परीक्षालाई मार्यादित, भयरहित र स्वच्छ वातावरण सम्पन्न गराउन सबै सरोकारवालाहरुलाई सहयोगका लागि शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले आग्रह समेत गरेको छ ।


































