
अत्तरिया: जुवातास खेल्ने खेलाउनेले अत्तरिया क्षेत्रनै छोडे हुन्छ भन्दै डिएसपी गंगा बहादुर थापाले चेतावनी दिएका छन् ।

कैलालीको इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा सरुवा भएर नयाँ आएका प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगा बहादुर थापाले जुवातास खेल्ने खेलाउनेले अत्तरिया क्षेत्र छोडे हुन्छ भन्दै चेतावनी दिएका हुन् ।
बुधवार ईप्रका क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न संघसस्थाका प्रतिनिधिहरू सँग आयोजना गरिएको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘ईलाका प्रहरी कार्यालयको आसपासको यरियाबाट जुवातास खेल्ने र खेलाउने जतिपनि हुनुहुन्छ उहाँहरुले यो यरिया छोड्दा हुन्छ, उहाँहरु कुनैपनि बेलामा कानुनी दायरमा आउनुहुन्छ ।
’ उनले भने ‘अपराध गर्ने व्यक्ति कानुन भन्दा माथि कुनै हालतमा हुनै सक्दैन कानुन सबैको लागि बराबर हो । त्यसक्रममा कानुनको सिलसिलामा यो फलानो हैसियतको नेताको सिफारिस भन्ने हुदैन हामी कानुन अनुसार अगाढी बढ्छौ ।’ यस्तै उनले लागूऔषध वेश्यावृत्ति नियन्त्रणमा पनि प्रहरी निर्मम भएर लाग्ने बताएका छन् ।
डिएसपी थापाले यसका लागि जनताको साथ सहयोग हुन पनि आवश्यक रहेको बताए । उनले अपराध नियन्त्रणमा प्रहरी कसैको दबाब,प्रभावमा नपर्ने बताएका छन् । अपराध नियन्त्रणमा प्रहरी समाजका नागरिक सँगै मिलेर अगाडि बढ्ने बताए ।


























