‘महाजात्रा हेरेर नेताले आत्मालोचना गर्न सक्नुपर्छ’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

Image
Nisarga Hospital

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फिल्म ‘महाजात्रा’ मनोरञ्जनसँगै संदेशमुलक बनेको बताएका छन् । मङ्गलवार बेलुकी ठमेलको छायाँ सेन्टरमा रहेको क्युएफएक्समा बेलुकीको शो हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई मन पर्ने शैलीको फिल्म बनाएको भन्दै निर्देशक प्रदीप भट्टराई, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीसहितको टिमलाई धन्यवाद दिए ।

CP Hospital Dhangadhi

‘यो फिल्म मनोरञ्जकसँगै संदेशमूलक बनेको छ । देशमा सुशासन, सम्वृद्धिको कुरा गर्छौँ तर भ्रष्टचार र वेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । नेताहरुले फिल्म हेरेर मम भन्न सक्नुपर्छ’, पूर्वप्रधानमन्त्री भट्टराईले भने,‘राजनीतिज्ञले सत्यलाई स्वीकार्नु पर्छ, तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन् । म फिल्म हेरिरहदा केही स्थानमा भावुक भएँ, केही स्थानमा आँशु रोक्न सकिन । फिल्म हेरेर आनन्द आयो ।’

उनले यस्ता फिल्मले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयन लगायतका सम्पूर्ण पक्ष मन परेको बताए । ‘यो फिल्म आम दर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो बनेको छ । म यसलाई १० मा ८ नम्बर दिन्छु । ढुक्क भएर सपरिवार फिल्म हेर्न आउनुस्’, उनले भने ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया लिन हलमै पुगेका निर्देशक प्रदीप भट्टराईले आफूले फिल्ममा मार्फत दिएको संदेशलाई दर्शकसँगै राजनीतिज्ञले बुझेको पाउँदा खुसी लागेको बताए । ‘हामीले सक्किने कि सच्चिने ? भन्ने प्रश्न फिल्ममा उठाएका छौँ । यसपटक मनोरञ्जनसँगै फिल्मकर्मीको दायित्व बहन गर्दै हामीले राष्ट्रिय विषयलाई उठान गरेका छौँ । देश र विदेशबाट आइरहेको प्रतिक्रियाले हामीलाई हौसला थपेको छ’, निर्देशक भट्टराईले भने ।

कार्यकारी निर्मातासँगै अभिनेता रहेका रवीन्द्रसिंह बानियाँले फिल्म हलमा सम्पूर्ण समुहको दर्शक पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । ‘हामी हल भ्रमणमा पुग्दा नयाँ दर्शक भेटिरहेका छौँ । अधिकाँस हलमा परिवार नै फिल्म हेर्न आएको पाएका छौँ । बच्चा, वृद्धसँगै ह्वीलचेयरमामा नै फिल्म हेर्न आउनुभएको पाउँदा खुसी छौँ र उहाँहरू शो सकेर हलबाट निस्किदै गर्दा हामीलाई दिनुभएको धन्यवाद हाम्रो सबै भन्दा ठूलो सफलता हो’, अभिनेता बानियाँले भने ।

निर्माता म्याक्स दीपेश खत्रीले फिल्म नेपालसँगै विदेशमा समेत उत्तिकै उत्साहजनक व्यापार गरिरहेको बताए । ‘अष्ट्रेलिया, अमेरिका, मध्यपूर्व, जापान लगायतका मुलुकमा कमाइ बढेसँगै शो सङ्ख्यामा वृद्धि भएको छ । यसले अहिले हामीलाई लाभ दिएता पनि नेपाली फिल्मको बजार विस्तारका साथै बलियो बनाउन उल्लेख्य मदत पुगेको छ । हामीले साउदी अरेवियामा पहिलोपटक फिल्म रिलिज गर्दैछौँ । यस्ता केही नयाँ देशमा बजारमा तयार गर्न हामीले प्रयास गरिरहेका छौँ’, निर्माता खत्रीले भने ।

उनले फिल्मले १० दिनसम्म विश्वव्यापी १४ करोड ग्रस कमाएको बताए । उनका अनुसार नेपालको हिस्सा ८ करोड ८ लाख र डायस्पोरामा ५ करोड नेरु ग्रस रहेको छ ।

पूर्व प्रधानमन्त्री भट्टराई अगाडि फिल्मलाई पहिलो सातामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् । नेपालकै ठूलो सिनेमा हलको चेन क्युएफएक्सले ‘महाजात्रा’ लाई ‘सुपरहिट’ ट्याग दिएको छ । पहिलोपटक उक्त हलले नेपाली फिल्मलाई यसरी आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ घोषणा गरेको हो ।

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ ।

आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाईएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Dhnagadhi & Krishanapur