
अत्तरिया : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान भएको छ। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम आगामी वैशाख २ गते बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार राजीनामा दिएका थिए। प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेपछि विश्वासको मत पाउने अवस्था नभएपछि उनले राजीनामा दिएका हुन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना प्रदेशसभा सदस्य छन्। नयाँ सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ।

संघीय सरकारअनुसार गठबन्धन बनाउन आवश्यक संख्याभन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन्। तर, सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवाद भइरहेकोले नयाँ सरकार बनाउनसमेत चुनौतीपूर्ण छ। संघीय सरकारमा रहेका नेकपा (एमाले)का १०, नेकपा (माओवादी) का १० र नेकपा (एकीकृत समाजवादी) संग चार जना प्रदेश सभा सदस्य गरेर २४ जना मात्र रहेका छन्। प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्रका १\१ जना प्रदेश सभा सदस्य रहेका छन्।































