
डोटीको जोरायल गाउँपालिका वडा नं. ३ को अल्याडी गाउँ भौगोलिक रुपमा विकट ठाउँ हो । कच्ची सडकको पहुँच पुगिसकेको भए पनि डाँडाकाँडा खोला खोल्सा पार गर्नुपर्ने भएकाले यात्रा त्यति सहज छैन ।
प्राय मगर समुदायको बसोबास रहेको उक्त गाउँमा २०८१ बैशाख ५ गते बिहानै पुग्ने अवसर जुर्यो ।
जोरायल गाउँपालिकाको सहयोगमा भर्खरै निर्मित अल्याडी जनजाती भवनको अनुगमनका साथै अल्लो प्रशोधन तथा उद्यमशीलता तालिममा प्रतिनिधी पठाउनेबारे छलफल र ग्रामीण भेगका जनतासँगको भेटघाटका क्रममा अल्याडी पुग्ने मौका मिलेको हो ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, प्रमूख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, जोरायल ६ का वडा अध्यक्ष गणेश बोहरा लगाएतको हाम्रो टोली त्यो गाउँमा पुगेको थियो ।
नव निर्मित अल्याडी जनजाती भवनमै स्थानीयसँगको केहि समयको बसाईंका क्रममा भवनबारे जानकारी लिने, अल्लो प्रशोधन तथा उद्यमशीलता तालिममा प्रतिनिधी पठाउनेबारे छलफल भइ दुइ जना सहभागि पठाउने बारे पनि टुङ्गो लाग्यो । यसका साथै स्थानीयबासीले स्थानीय तोपाघाट खोलामा झोलुङ्गे पुल निर्माण गरिनुपर्ने, अल्याडी–देउताल–शिखर जोड्ने कृषि सडक छिटो निर्माण गरिनुपर्ने र नव निर्मित जनजाती भवनमा पानी र शौचालय निर्माणका कामहरुका लागि गाउँपालिकालाई दर्शाए ।
यसैबिचमा अल्याडी गाउँ नजिकै वर्षाैंदेखि ढुङ्गाको ओडारमा बास रहेको एक परिवारको जीवन कथाको पनि प्रसङ्ग आयो । सिङ्गो टोली नै आश्चर्य चकित भयौं र ओडारको दृश्य हेर्न र त्यो ओडारमा बस्ने परिवारको जीवन कथा जान्न आतुर भयौं । तर त्यसपूर्व टोलीले स्थानीय श्री काफलेश्वर आधारभूत विद्यालयको भौतिक अवस्थाको अवलोकन निरिक्षण समेत गर्यौं ।
यसपश्चात स्थानीयबासीन्दासँग बिदाइका हात हल्लाउँदै गाडी चढेर टोली अगाडी बढ्यौं र थोरै अगाडी पुगेपछि रामेश्वर भट्टसँगै लाग्यौं ओडारमा रहेको रामेश्वरको बासस्थानतर्फ …..
- शुरु गरौं ‘ढुङ्गे ओडारमा भट्ट परिवारको बास’को कथा
अल्याडी गाउँको अलिक तलतिर, ग्रामीण कच्चि सडकको पनि तलतिर, पारिपट्टी घना जङ्गल, तल खोलामा उनै रामेश्वर भट्ट परिवार बस्दै आएको ढुङ्गाको ओडार । कच्ची सडकबाट वस्तुस्थिती अवलोकन गर्यौं । माथिबाट हेर्दै डर लाग्दो ठाउँ । अगाडी अगाडी रामेश्वर भट्ट, त्यसपछि क्रमशः जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहरा, अध्यक्ष दुर्गादत्त ओझा, वडा नं. ६ का वडा अध्यक्ष गणेश बोहरा, प्रमूख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, अनि स्वयं म र पछाडीबाट जोरायल गाउँपालिकाका चालक लोक बहादुर मल्ल । करिब ४-५ मिनेटको ठाडो ओरालो झरेपछि उक्त ठाउँ पुगियो ।
हामी त्यहाँ पुग्दा रामेश्वरकी बुढी आमा र साना छोराछोरी ढुङ्गाको ओडार बाहिरै पश्चिमपट्टी बसिरहेका थिए । बस्ने चकटीसम्म पनि थिएन । पूरै धुलोमाटोमा उनिहरु मज्जाले थचक्कै बसिरहेका थिए । खुट्टामा चप्पल थिएन । साना छोराछोरीको शरीरमा भने सरकारी विद्यालयको ड्रेस थियो । त्यो लुगा कसले दिएको हो बुझ्ने प्रयास गरिन । तर कति समयदेखि ति बालबालिकाले लगाएको लुगा धुन नपाएको होला र कति समयदेखि उनिहरुले नुहाउन पाएका थिएनन् होला ? मन खिन्न अनि जिउ सिरिङ्ग भयो । ति बालबालिका हाम्रो टोली देखेर डराए जस्तो गरी आफ्नो बज्यैको आडैमा टाँसिन पुगे । जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले हतार हतार बोल्दै नानी बाबुहरु नडराउनु है । हामी तिमिहरुलाई भेट्न अनि माया गर्न आएका हौं । यसबारे बोल्दै बुढी बज्यैले भन्नुभयो–‘मान्छे नधेकेका हुनाले डर माण्यो ।’
उसो त तीन–चार वटा बाख्रा पनि पालेका रहेछन् । छेउमै बाँधेका थिए ।
बिस्तारै हामीले उहाँहरुसँग केहि कुरा खोतल्ने प्रयास गर्यौं । रामेश्वर भट्टको घर जोरायल गाउँपालिका वडा नं. ३ कोटेली गाउँ रहेछ । उनकी आमा लक्ष्मीदेवी भट्टको माइती घर सोही वडाको ठुल्ढुङ्गा गाउँको ओझा परिवारमा रहेछ भने नागरिकतामा वि.सं. १९९९ सालको उनको जन्ममिति भएको उनका छोरा रामेश्वरले बताए । १३ वर्षको उमेरमा लक्ष्मीदेवीको विहे कोटेली गाउँका खगेन्द्र भट्टसँग भएको रहेछ भने त्यति बेलाको सामाजिक प्रचलन अनुसार विहे भएको एक वर्षपछि मात्रै कर्म घर गएको उनी बताउँछिन् ।
कर्मघरमा केहि वर्षसम्म बसे पनि घरबार व्यवस्था राम्रो गर्न नसकेपछि कलिलो उमेरमै दुःख पीडा खेप्दै कहिले कतै कहिले कतै गर्दै पछि गएर माइतीको साहारामा बसेको उनी सुनाउँछिन् । आमासँगै कान्छा छोरा रामेश्वर पनि जता आमा गयो, त्यतै लैजाने गरेको उनले सुनाइन् । साथै पछिल्लो समयमा उनी अल्याडी गाउँमा बस्न थालिन् । त्यतै थोरै जग्गा मात हालेर किनिन् र कमाइ गरेर खाइन् पनि । तर बिचैमा जग्गावालाले माते जग्गा पनि छुटाईदिएपछि करिब ३ वर्षदेखि माइती परिवारकै जग्गामा रहेको ढुङ्गाको ओडारमा बास बस्दै आएको उनले सुनाइन् ।

उनिहरुका साथमा रहेका दुइ साना बालबालिकाबारे हामीले बुझ्ने प्रयास गर्यौं । रामेश्वरकी ५ वर्ष पूरा गरेकी एक छोरी र ३ वर्ष पूरा गरेको एक छोरा रहेछन् । रामेश्वरले वि.सं. २०७२ सालमा ४२ वर्षे उमेरमा डोटीकै शिखर नगरपालिकाबाट विहे गरेका रहेछन् । त्यसयता दुइ छोराछोरी जन्मिएका रहेछन् । अहिले श्रीमती कहाँ छन् त भन्ने प्रश्नमा रामेश्वरले भने–‘श्रीमतीको मानसिक समस्या पनि रहेछ, जतिसुकै बेला जङ्गलमा, डाँडातिर गएर ठूलो डाको छोडेर कराउने, आफुलाई र आमा (सासु) लाई जेसुकै चिज हातमा पर्यो त्यसैले हिर्काउने गर्छ । करिब एक वर्षबाट घर छोडेर माइती घर गएर बसेकी छे ।’
खै उनकी श्रीमतीको मानसिक स्वास्थ्य के थियो, हामीलाई जानकारी भएन । तर जेसुकै होस्, एउटा मान्छेको मन हो । रामेश्वर र उनकी आमाले पो ढुङ्गाको ओडारमा बास बस्न सकेका छन् । उनकी श्रीमतीले त्यो कहालीलाग्दो ठाउँमा बस्न नसकेर पो मानसिक तनाव भएको हो कि ? हामीमा मनमनै प्रश्नहरु खेल्न थाले ।
उसो त रामेश्वर भट्ट एक समयमा इण्डियाका ‘ह्याभी सवारी चालक’ पनि रहेछन् । तर अहिले खै किन यो अवस्थामा छन् ? प्रश्नैप्रश्न छन् ।
अनी हामीले उहाँहरुको दैनिक खानपिन गुजारा कसरी चल्छ भन्नेमा प्रश्न गर्यौं । रामेश्वरकी आमा लक्ष्मीदेवीका अनुसार उनको बृद्धभत्ता आउँदो रहेछ । सोही रकमले अन्नपात किन्ने खाने र गुजारा चलाउने उनी सुनाउँछिन् । भन्छिन्–‘त्यै मेरो बृद्धभत्ता हो, अब त स्वास्थ्य अवस्था पनि कमजोर भैसक्यो, त्यै भत्ता ल्याउनका लागि पनि जान गाह्रो छ ।’
गत वर्ष उनले बाख्रा केही बढी पालेका रहेछन् । तर दैव पनि दुःख माथि दुःख दिन्छ भने झैं रोगले दश–बाह्र ओटा बाख्रा मरेको उनीहरु सुनाउँछन् ।
यसका साथै यति बेला जोरायल क्षेत्रमा सल्लाको आँख्ला अर्थात झुरो (दियालो) किनबेच हुने गरेको छ, रामेश्वरले त्यही दियालो संकलन गरी भएको कमाइ लगाएतबाट साँझ बिहानको खानपिन गुजारा चल्ने गरेको रहेछ ।
अनि सोध्यौं ति छोराछोरी स्कुल पठाउने गर्नुभएको छ कि छैन भनेर । रामेश्वरले भने यतिञ्जेल त खासै पठाउने गरेका छैनौं, आगामी दिनमा पठाउँछौं ।
अर्काे कुरा सोध्यौं तपाईंको पैतृक हक लाग्ने घर कोटेली गाउँमा तपाईंको भागको घर, जग्गाजमीन छैन त ? रामेश्वर भन्छन् –‘छ, छनत । दाजु टेकराज भट्ट र मेरो भागबण्डा पनि मिलाईसकेका हौं । तर त्यहाँ आमा खप्न सक्नुहुन्न । गाउँमा म जाँदै जान्न बरु मलाई माइतिकै जग्गामा ओडारकै बास बस्नु ठिक छ भन्नुहुन्छ ।’ थप प्रश्न गर्यौं–‘आफ्नो भागको जग्गा जमिन कमाइ गरेर खाने, छोराछोरीलाई स्कुल पढाउने, उचित सरसफाइ सहित लालनपालन गर्नुपर्दैन त ?’ उत्तर थियो–‘मैले भनिसके म गरिब त होइन, मेरो भागको जग्गाजमिन छ । छोराछोरी जन्माइसकेपछि हुर्काउने पाल्ने मेरो जिम्मेवारी हो, म जसरी पनि पाल्छु । आमाले त्यो गाउँमा नगएका कारण मैले पनि जान सकेको छैन ।’
हाम्रो टोलीले करिब १५-२० मिनेटसम्म यि यावत परिस्थिती बुझ्नका लागि सोधिएका प्रश्न र प्राप्त जवाफले उक्त भट्ट परिवार ढुङ्गे ओडारमा बास बस्नुपर्ने बाध्यात्मक खास कारणबारे निष्कर्षमा पुग्न कठिन भयो ।
ओडारको बास प्रत्यक्ष हेरीसकेपछि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझालाई मेरो प्रश्न थियो कि अब के गर्नुहुन्छ ? जवाफमा अध्यक्ष ओझाले उक्त परिवारसँगको सरसल्लाहमा बालबालिकाको हक अधिकारलाई विशेष मध्ये नजर गर्दै गाउँपालिकाले आवासको व्यवस्थापनका लागि प्रतिवद्धता जनाए ।
साथै हाम्रो टोली त्यो ठाउँबाट गाउँपालिकातर्फ फर्कियौं । बाटोमा तिनै दृश्य, परिस्थिती र कहानीबारे गफिंदै यात्रा सकेर आ–आफ्नो काममा लाग्यौं ।
सपरिवार ओडारको बास बस्नुको वास्तविक कारण जेसुकै भए पनि यो विज्ञान प्रविधिको युगमा तीन पुस्ता सँगै रहेको (बज्यैदेखि नातीनातिनासम्म) एउटा परिवारै ओडारमा बस्नुले आज राज्यलाई भने नराम्रोसँग गिज्याइरहेको छ ।
मुलुकले विभिन्न राजनीतिक परिवर्तनका चरण पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट अगाडी बढिरहेको छ । सोही व्यवस्थाका लागि नेपालको संविधान २०७२ जारी भइ कार्यान्वयन भएको पनि करिब एक दशक पुग्नै लागिसकेको छ । संविधानको भाग ३ मा मौलिक हकका रुपमा धारा १६ देखि धारा ४६ सम्म हरेक नेपाली नागरिकको सम्मानपूर्वक बाँच्न पाउने देखि गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी लगाएतका भएभरका हक अधिकारको संवैधानिक ग्यारेण्टी गरिएको छ ।
संविधान कार्यान्वयनकै क्रममा तीन तहका सरकार संघ, प्रदेश र स्थानीय सरकार संरचना क्रियाशील रहेका छन् ।
यहाँ राज्यले जेष्ठ नागरिक र बालबालिकाको हक अधिकारका लागि विभिन्न नीति, नियम कार्यक्रमहरु लागु गरेको पाइन्छ । तर राज्यकै आँखा अगाडी यो जर्जर अवस्थामा गुज्रिरहेको भट्ट परिवार र अँझ त्यो परिवारका अबोध बालबालिकाको अवस्थाले कहिले मुक्ति पाउला ? आम नागरिक सरह त्यो परिवारले सुरक्षित घरभीत्र आनन्दित मनले कहिले आराम गर्न पाउला ? ति बालबालिकाले पेटभरी कहिले खान पाउलान् ? कहिले सरसफाइ गर्न पाउने हुन् ? कहिले एकसरो राम्रो लुगा लगाउन पाउने हुन् ? मातृबात्सल्य बाट समेत टाढिएका बालबालिका कहिले जङ्गलको ओडारको बासबाट मुक्ति पाएर समाजमा अरु बालबालिकासँग हाँस्न खेल्न पाउने हुन् ?
कहिले उचित शिक्षादिक्षाका लागि राम्रो विद्यालय पढ्न लेख्न पाउने हुन् ? ‘आजका बालबालिका भोलिका देशका कर्णधार’ भन्ने नाराको मूल बाटोमा कहिले उनिहरु हिड्न पाउने हुन् ? सरकारका नीतिनियम, कानुन, कार्यक्रम, बजेट सँगै बालबालिकाका क्षेत्रमा काम गर्ने सामाजिक संघसँस्था, नीजि क्षेत्रले कहिले यि मुद्दालाई संवोधन गर्ने हुन् ? यि यावत् प्रश्नको नेपाल सरकारबाट यथासिघ्र समस्याको संबोधन गरी उचित पुनर्स्थापना सहित अमानवीय अवस्थाबाट मुक्ति पाएको हेर्न दिन गन्ति गरेर बस्नेछु । (स्थलगत यात्रा संस्मरणमा आधारित)


































