


केहि समय देखि हामी बीचमा सम्पर्क हुन सकेको थिएन । मैले पटक पटक सम्पर्कको प्रयाश गर्दा समेत उनको फोन स्वीच अफ हुन्थ्यो । अब हाम्रो बीचमा सम्पर्क तथा भेटघाट होला भन्ने फिटिक्कै पनि सोचिएको थिएन । उनको यादले गडेका पलहरूलाई मनबाटै बिस्तारै हटाउनु बाहेकको उपाय थिएन । उनलाई जसरी पनि बिर्सनु पर्ने मेरो अन्तिम निष्कर्ष थियो । म मानसिक रूपमा आफुलाई उनलाई बिर्सने अभ्यास तर्फ अग्रसर गरि रहेको थिए । तर कुन्नी उनको यादले दिन दुई गुणा रात चौगुणा सताईरहेको थियो । आफुले भित्रै बाट उनलाई भुल्न खोजे पनि म भित्रको ” म “ले उनि बाहेक सारा संसारै बिर्सिएर एक ध्यान भएर उनलाई मात्रै सम्झिन चाहन्थ्यो ।




आफुलाई सम्हाल्ने प्रयत्न गर्दा गर्दै आफ्नो मन मुटुमा गहिरो गरि गडेको उनको यादलाई हटाउन बिस्तारै नशालु पदार्थहरूको सेवन तर्फ मोडिदै थिए ।
यो कदम मेरा लागि घातक भए पनि उनको यादलाई हटाउने एउटा मात्रै उपाय नसालु पदार्थ सेवन गरेर आफ्नो होस् ठेगान गुमाउनु मात्रै थियो ।
हामी निरन्तर चार दुई बर्ष देखि प्रेम सम्बन्धमा थियौ । उनको त्यो समयको म प्रति प्रेम गराई हेर्दा
हामी एक जुनी मात्रै होईन सातै जुनि सम्म पनि प्रेमिल जोडी भएरै बस्छौ होला जस्तो लाग्थ्यो तर म कुनै दिग्भ्रममा रहेछु । उनले त मलाई दुई बर्ष हाराहारीमै सम्बन्ध लाई डाँडा पारीको घाम जस्तै बनाई दिएछ ।
हामी दुबैजना व्याचलर पढ्नको लागि गाउँबाट म नेपालगन्ज र उनि धनगढीमा पढ्ने गरेकी थिईन। शुरूमा कलेजको पढाई नया ठाउँको वातावरण भोगाई र अनुभवहरूको बारेमा हामी घण्टौ फोनमा गफिएर हरेक दिन प्रेमिल बनाईरहेका थियौ ।
हामी दुबै जनाले स्नातक प्रथम बर्षको परिक्षा दिएर दोस्रो बर्षको पढाई चलि राखेको थियो ।
बाह्र कक्षा सँगै पढेका समिर दाई नेपाल आर्मीको जागिरे थिए । संयोगले समिर दाईको पनि धगढीमै पोस्टिङ भएको थियो ।
दाईले काजल सँग प्राय भेटघाट अनि गफगाफ हुँदो रहेछ । हाम्रो प्रेम सम्बन्धको बारेमा समिर दाईलाई शुरू बाटै थाहा थियो ।
समिर दाई पनि हामीले प्रेमलाई दिर्घकालिन सम्बन्धमा रूपान्तरण गर्दै एक अर्कालाई साथ दिनुपर्छ भन्नेमै हुनुहुन्थ्यो ।
दाई बेलाबेलामा पल्टनबाट आउट छोडेको दिन हाम्रो कोठामै आउने गर्नु हुन्थ्यो । दाई सँग बिदामा आएको बेलामा घण्टौ गफिन्थ्यौ ।
सधैझै यसपाली पनि दाई चैतको पहिलो हप्ता तीर हाम्रो कोठामा आउनु भएको थियो ।
दाईले नेपालगन्ज आउनु भन्दा एक हप्ता अगाडी मात्रै काजललाई भेट्नु भएको रहेछ ।
दाई सँग काजलले मैले फोन नउठाउने , सम्पर्क नगर्ने र वास्ता गर्न छोडेको भन्ने कुरा गर्नु भएको रहेछ ।
दाईले शुरूमै घरमा आउने बितिक्कै मलाई हपार्नु भयो । “किन तिमीले काजललाई सम्पर्क नगरेको उनि रोई राखेको थिईन ” भन्दै दाईले मलाई झपार्नु भयो ।
“तुरून्तै फोन गरेर कुराकानी गर त ! “भन्दै आदेश गर्नु भयो ।
मैले “एक छिनमा गर्छु । के नै हतार छ र ! गरौला नी” भन्दै दाईको कुरालाई सहज रूपमा जवाफ फर्काए।
मेरो जवाफ सुने पछि दाईले “यस्ता मान्छेहरूले पनि के प्रेम गर्नु । अरूलाई तड्पाई तड्पाई प्रेम गर्छु भन्नु भन्दा नगरेको राम्रो ” भन्नु भयो ।
दाईको कुरा सुनेपछि काजलले दाईको कान राम्रै गरी फुकेर पठाएको रहेछ भन्ने लाग्यो ।
मलाई सम्पर्क गर्दैन । फोन उठाउदैन । टाढिन खोजेको छ । भन्दै दाईलाई उनले विश्वास दिलाएछ । वास्तविकता त मलाई मात्रै थाहा थियो।
हामी प्रत्येक दिन शुख दुखका गफ गर्दै सुनौलो भविष्यका सपना संगाल्दै समय बिताईरहेका दुबै जना उनले मलाई थाहा भएको नम्बर नै स्विच
अफ गरेर मेरो सम्पर्क बाट टाढा हुन खोजेको
यथार्थका सामु उनको बनावटी कुराले मलाई झनक्कै रिस उठि सकेको थियो । तैपनि मैले समिर दाईलाई यो सबै कुरा भनेको थिएन ।
दाई सँग सन्चो बेसन्चोका गफगाफ गरेर म तरकारी लिएर आउँछु भन्दै बाहिर निस्किए।
गर्मी असाध्यै धेरै नै बढेको थियो । धम्बोजी चोकमा रहेको बब्लुको मासु पसलबाट दुई किलो ब्रोईलरको मासु लिए । नजिकैको सनराईज लिक्युर बाट एक बोतल म्याकडल रक्सी लिएर कोठामा फर्किए । कोठामा आउँदा समिर दाई भाउजु सँग फोनमा गफ गर्दै मस्किरहनु भएको थियो ।
म हतार हतार किचेनमा पसेर खाना पकाउन शुरू गरे । चिकेन रोष्ट ,सलाद ,सिमिको दाल र चिकेन ग्रेबी तयार गरे । खाना पकाउँदा पकाउँदै भान्सामा दुईपेक सम्म पिईसकेको थिए । झुम्म बनाएको थियो । कान ताते जस्तै महसुस हुँदै थियो । मन चंगा झै हलुका भैरहेको थियो । ज्यान त निकै फुर्तिलो र जागरिलो जस्तै भैरहेको थियो ।
साईडमा मोबाईलमा लोकप्रिय गायक रामकृष्ण ढकालको चरिले त छोडेर ……बजिएर बसिरहेको थिए।
समिर दाई लाई “खाना तयार भयो दाई” भन्दै बोलाए ।
दाईले किचेनको माहोल र गीतको गुञ्जायमान ध्वनी सुनेपछि म तीर हेर्दै “ओहो केटा बडो पार्टी चलिरहेछ त ! कहिलेबाट शुरू गरियो भन्दै” मजाले हाँस्नु भयो ।
अलिअलि भयो दाई यो चिज त बडो मिठो हुँदो रहेछ भन्दै हाँस्दै जवाफ फर्काए।
दुबै दाजुभाई मजाले हाँसियो ।
म पहिला दाईहरूले पिउने अफर गर्दा समेत नकारेर बस्ने मानिस आज कसैको प्रेममा परेर उनिलाई बिर्सिने बहानामा पिउन शुरू गरेको करिब दुई महिना जति भएको थियो ।
मैले दैनिक जसो बेलुका पिएरै सुत्ने गर्दथे ।
“ए केटा तिमिले काजललाई माया गर्दैनौ हो ?
पहिले त खुबै गर्छौ जस्तै लाग्थ्यो । अहिले कसरी बदलियौ हो ? ” कि खाली मायाको नाटक गरेको हो ?
दाईबाट सँगै दुई तीन वटा महत्वपूर्ण प्रश्न सहितको गम्भीर कुरो बाहिरियो ।
मैले हाहाहा हाहाहा गर्दै हासे ।
अगाडी रहेको गिलासमा एक पेक थप्दै आफुले लगाएको सर्टको बटन फुकाले ।
नजिकै रहेको पंखाले बिस्तारै हावा दिईरहेको थियो ।
मैले दाईलाई काजललाई माया गर्छु भन्ने कुरा राम्रो सँग बुझाउनु थियो ।
हाम्रो आजको बसाईको महत्वपुर्ण टपिक नै हाम्रो माया बन्ने भयो ।
समिर दाई र मेरा बीचमा कुरा शुरू हुन्छ ।
म- दाई मैले काजललाई माया गर्दैन जस्तो लाग्छ र तपाईलाई?
समिर दाई – खै मलाई त शंकै लाग्छ ।
म – उसलाई मैले हिजो र आज पनि औधी माया गर्छु । तर उनको अहिलेको गतिविधिले मलाई म आफैमा भ्रममा रहेछु भन्ने लाग्दैछ दाई !
मेरो कुरा सुनेपछि दाई झनक्क रिसाउनु भयो ।
उहाँको अनुहार निकै अध्यारो देखिदै थियो ।
दाईले नजिकै रहेको बोतलबाट एक प्याक थप्दै “भाई म अझै काजल माथी विश्वास गर्छु तर तिमी आफैमा खराब मान्छे हौ । “
भन्दै म तीर औला तेर्स्याउदै रिसले चुर हुनु भयो ।
दाईको हाउभाउ हेरेर म निकै आश्चर्य चकित भैरहेको थिए ।
आफ्नो भाईको विश्वास नगरेर एउटी नाटकीय रूपमा माया देखाउँदै आफै टाढिन खोजिरहेकी केटिको बढ्ता विश्वास गरेको देखेर मलाई समिर दाई प्रति बिस्तारै रिस उठ्दै थियो ।
झ्याप्पै बत्ति गयो । म हातमा भएको मोबाइल सेटको टर्च बोकेर लुसुक्कै बेड रूम भित्र पसे । मेरो खाटको सिरानी मुनी डायरी भित्र रहेको पत्र झिकेर हातमा थमाउँदै दाई र म पिउदै गरेको टेबलमा राखी दिए ।
दाई – के हो यो फेरी ?
म- हाम्रो प्रेमको फेहरिस्त छ । खोलेर पढ्नुहोस् ।
दाई – केटाले के-के देखाउँछ।
म-पढेर हेर्नुहोस् ।
समिर दाईले नजिकै रहेको मोबाइलमा बालिएको टर्च तर्फ संकेत गर्दैटर्च देखाउन ईशारा गरे ।
मैले तीन रात बिताएर बाह्र पेजको पत्र तयार पारेको थिए ।
जुन हाम्रो प्रेमको अन्तिम अनि मेरो तर्फबाट लेखिएको एकतर्फी सन्देश थियो ।
मैले हामी सम्बन्धमा जोडिए देखि छुट्टिदा सम्मका सबै घटनाक्रमलाई एक एक पस्किएर सुखद जीवनको शुभकामना सहित बिट मारेको थिए ।
समिर दाई -चार पेज सम्म सरसर्ती पढे पछि “ए केटा बोत्तल रितिएछ फेरी थपौ ” भन्दै मलाई उस्काउन थाल्नु भो !
मैले दाईलाई पुग्यो । अब नखाऔ भन्दै रोके ।
हामी रातीको खाना खाएर सुत्यौ ।
दाईले रातभरी उक्त पत्र पढ्नु भएछ ।
भोलीपल्ट बिहानै काजललाई सुरक्षित बुझाईदिने आफ्नो झोलामा थन्क्याए ।
एक हप्ताको बसाई पछि समिर दाई आफ्नो कार्यक्षेत्र धनगढी फर्किए ।
उहाँले काजललाई एलएन चोक नजिकैको पार्कमा बोलाएर मैले तयार पारेको उक्त बाह्र पेजको प्रेम पत्र उनलाई दिनु भएछ ।
केहि समयको भलाकुसारी पछि काजल पत्र बोकेर हिडेछिन ।
उनले उक्त पत्र पढिसकेपछि करिब एक हप्ता पछि समिर दाई लाई त्यही पार्कमा भेट्न बोलाएर आफ्नो रोदन पोखेकी रहेछिन ।
प्रेम गरेर कसैलाई तड्पाउनु भन्दा घाटी रेटेर मारिदिनु धर्म हुन्छ । कसैको नसा नसामा आफ्नो प्रेम दिलाएर अलपत्र पार्नु हत्या भन्दा ठुलो जघन्य अपराध हो । यदि कसैलाई माया गर्न सकिदैन भने आफ्नो सच्चाई बताईदिएर छुट्टिन पनि त सकिन्थ्यो । कसैलाई प्रेममा धोका दिनुको कारण नै नबताई धोका दिनु भनेको उसको पलपल हत्या गर्नु हो त्यसैले हाम्रो साँचो प्रेममा म माथी धोका दिईनुको पछाडीको कारण मात्रै भन्दिए आभारी साथै जिवनभर खुशी हुन्थे भन्ने जिकिर सहित तयार भएको बाह्रपेजको प्रेमपत्र प्रेमिल जीवनको अन्तिम एकतर्फी सन्देशको पुलिन्दा थियो ।
जसलाई पछि सम्म पनि काजलले आफ्नो सिरानीमुनी च्यापेर सुत्थिन बन्ने सम्मको खबर धेरै पछि पुजा बाट पाएको थिए ।
जसको रिप्लाई अझै आएको छैन ।
अब त उनी चाँडै हजुरआमा बन्दैछिन ।
उक्त बाह्रपेजको प्रेमपत्रको लेखक कोरियाको ईन्फ्राइस्ट्कचरमा आफ्नो ज्यान घोट्दैछ ।
अब कहिकतै काजललाई बाटोमा भेटेर जम्काभेट भएछ भने पनि त्यो पत्रको जवाफ माग्ने हिम्मत हुँदैन होला ।
तर याद दुबै जनालाई पक्कै आउँछ होला ।
हामी कुनै समय सँगै जिउने र मर्ने गरी सम्बन्धमा थियौ । तर अहिले लामो समय पछि बाटोमा जम्काभेट हुँदैछ । मैले सिरानीमुनी च्यापेर राखेको बाह्र पेजको प्रेम पत्रको जवाफ अझै दिन बाँकी छ भन्ने प्रश्नले काजललाई पक्कै पिरोल्ने छ


































