
धनगढी: स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले सञ्चालन गरेको पाँचदिने रेडियो तथा मञ्च उदघोषण तालिम मंगलबार सम्पन्न भएको छ। तालिम समापन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा -प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी रहेका थिए। प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दे प्रमुख अतिथि उपकुलपति डा. जोशीले तालिममा सिकेका कुरा ब्यबहारमा उतार्न विद्यार्थीहरूलाई आग्रह गरे। वर्तमान समयमा उदघोषण कला सबैको लागि अपरिहार्य भएको बताउदै उपकुलपति जोशीले ब्यक्तित्व विकासका लागि पनि यो कला आवश्यक भएको बताए। उनले आगामी दिनमा उदघोषण कलाका साथै सुदूरपश्चिमको भाषा ,कला साहित्य र संस्कृतिको विकासका लागि प्रज्ञा प्रतिष्ठान योजनाबद्ध रूपमा अगाडि बढ्ने बताए। स्ववियु सभापति यमराज जोशीको सभापतित्वमा सम्पन्न समारोहमा विशिष्ट अतिथि क्याम्पस प्रमुख तोयराज भट्ट, प्राध्यापक संघका सभापति डा. शिव सापकोटा, सह प्रा.मानबहादुर जोरा,प्रशिक्षक टेकेन्द्र देउबा लगायतले शुभकामना ब्यक्त गरेका थिए। तालिममा साठी प्रशिक्षार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक गौरी सिंहले बताइन्।





































