
धनगढी : १७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सनिबार कैलाली जनपुस्तकालय धनगढीले भव्य साहित्यिक तथा सांस्कृतिक समारोहको आयोजना गरेको छ।

यस अवसरमा पुस्तकालयले बिभिन्न प्रतिभाहरूलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित समेत गरेको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख माननीय नजिर मियाँको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको अध्यक्षता कैलाली जनपुस्तकालयका अध्यक्ष तथा संस्कृतिविद् डा. टीएन जोशीले गर्नु भएको थियो। सो अवसरमा पुस्तकालयले कैलाली जनपुस्तकालय पुरस्कार २०८१ बाट सह प्रा. सीताराम भट्टलाई, जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारबाट कवि निर्मल कुमार भण्डारीलाई, विष्णु नर्मदा राष्ट्रिय साहित्य प्रतिभा पुरस्कारबाट साहित्यकार तुलसी प्रसाद पण्डितलाई, भोजराज -हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कारबाट मदन चन्दलाई र चित्रबहादुर कार्की राष्ट्रिय समाजसेवा पुरस्कार २०८० बाट समाजसेवी तथा पूर्व राज्यमन्त्री टेकबहादूर रैकालाई सम्मानित गरिएको छ।
यसै गरि समारोहमा द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय सम्मानबाट समाजसेवी तथा प्रदेश सभा सदस्य तुलसी देवकोटालाई, बिपी कोइराला स्मृति राष्ट्रिय स्वास्थ्यसेवा सम्मानबाट बरिष्ठ चिकित्सक डा. बिदुरमणि ढकाललाई, बद्रीनाथ राष्ट्रिय शैक्षिक साधना सम्मानबाट शिक्षासेवी प्रेमराज भट्टलाई, कैलाली जनपुस्तकालय नियमित पाठक सम्मानबाट तीर्थराज ओझा (गडसेरी माइला)लाई सम्मानित गरिएको छ। प्रमुख अतिथि प्रदेश प्रमुख नजिर मियाँ र पुस्तकालयका अध्यक्ष डा. टीएन जोशीले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला, माला, टिका र पुरस्कारबाट सम्मानित गर्नु भयो। सो अवसरमा बोल्दै प्रदेश प्रमुख मियाँले पुस्तकालय ज्ञानको भण्डार भएको बताऊदै कैलाली जनपुस्तकालयको वर्तमान नेतृत्वले गरिरहेको सुकार्यको प्रशंसा गर्नुभयो। सुदूरपश्चिम आफूले सोचे भन्दा भिन्न र सुन्दर भएको बताउदै उहाँले सुदूरपश्चिमको विकासका लागि आफू पनि लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो पुस्तकालयका अध्यक्ष तथा सुदंरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले कैलाली जनपुस्तकालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आफ्नो कार्यसमिति लागिरहेको बताए।




समारोहमा कैलाली जनपुस्तकालयले प्रकाशन गर्ने वार्षिक मुखपत्र मालिकाको प्रदेश प्रमुखले लोकार्पण गरे। समारोहमा वरिष्ठ कवि मनिराज जोशी, सम्मानित व्यक्तित्वहरू सीताराम भट्ट, मदन चन्द, तुलसी प्रसाद पण्डित, प्रेमराज भट्ट, डा. विदुरमणि ढकाल, गडसेरी माइला, सुभाष सङ्कल्प भण्डारी, हर्क बोहरा लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा वरिष्ठ कवि मनिराज जोशी, पूर्व राज्यमन्त्री टेकबहादूर रैका र प्रदेश सभा सदस्य तुलसी देवकोटाले पनि राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शुभकामना दिदै पुस्तकालयको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट भरपूर कोशिश रहने बताए। कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।कार्यक्रम सन्चालन पुस्तकालयका सचिब टँक जोशी गरेका थिय ।


































