
बर्दिया: सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे व्यक्त गरेको अभिव्यक्ति गठबन्धनको सहमति विपरीत भएको टिप्पणी गरेका छन्।

कांग्रेस बर्दियाद्वारा बिहीबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेता साउदले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले गठबन्धनको औचित्यबारे पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको बताए।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका साउदले भने, “गठबन्धनका बेला संविधानमा केही कमजोरी रहेको र यसलाई संशोधन गर्ने सहमति गरिएको थियो। तर, प्रधानमन्त्रीले अब ०८७ सालमा मात्रै संशोधन हुने अभिव्यक्ति दिनुभएको छ, जुन सहमतिको उल्लङ्घन हो।”

साउदले यस्तो अभिव्यक्तिले सरकार गठनका लागि भएको सहमतिको मर्मलाई खलल पुर्याएको र गठबन्धनको औचित्यबारे कांग्रेसले सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे।

सरकारलाई सुशासनमा केन्द्रित हुन सुझाव
नेता साउदले सरकारलाई जनताका समस्याको समाधानमा केन्द्रित हुन आग्रह गरे। उनका अनुसार जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने सुशासन र प्रभावकारी सेवा प्रवाहमा सरकारको प्राथमिकता हुनुपर्छ।
साउदले थपे, “सरकारले सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न आवश्यक छ। यसमा हामी सबैको साझा भूमिका रहनुपर्छ।”
कार्यक्रममा सहभागी कांग्रेस कार्यकर्ताहरूले समेत गठबन्धनको प्रभावकारीता र समन्वयका विषयमा प्रश्न उठाएका थिए।






























