
भारतको पलिया, लखिमपुर जिल्लामा नेपाली पत्रकारहरुलाई स्वागत र सम्मान गरिएको छ। नेपाल पत्रकार महासंघ कैलालीको नव निर्वाचित कार्यसमितिका सदस्यहरुलाई भारतीय पत्रकार, व्यवसायी, र समाजसेवीहरुले सम्मान गरेका हुन्। पलियाका वरिष्ठ पत्रकार जय कुमार गुप्ता र भारतीय जनता पार्टीका नेता रवी गुप्ताले नेपाली पत्रकारहरुलाई माला, दोसल्ला र मायाको चिनो दिएर सम्मान गरे।

समारोहमा बोल्दै, जय कुमार गुप्ताले नेपाल र भारतको प्राचीन मित्रता र त्रेता युगदेखि कायम रहेको सम्बन्धलाई पत्रकारिताको माध्यमबाट अझ प्रगाढ बनाउनु पर्ने आवश्यकता औंल्याए। उनले नेपाल र भारतका सञ्चार माध्यमलाई सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने कुरा उल्लेख गरे।
रवी गुप्ताले भारत र नेपालका सञ्चारकर्मी बीचको सम्बन्ध बढाउन यस कार्यक्रमको आयोजना गरिएको बताए र नाकामा सहज वातावरण बनाउन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको टिप्पणी गरे।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले यस कार्यक्रमले नेपाल र भारतका पत्रकारलाई एक अर्कासँग परिचय गर्ने मौका दिएको बताए र सीमामा आउने समस्यामा पत्रकारहरुले सहयोग पुर्याउनुपर्ने महत्त्व जोडेका छन्।
यस अवसरमा विभिन्न पत्रकार र समाजसेवीहरू उपस्थित थिए, र आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र सुदूरपश्चिमका स्थानहरूको प्रचारमा भारतीय पर्यटकलाई आकर्षित गर्ने अपिल गरिएको छ।




























