
आन्दोलन कुनै विषय वा एजेण्डामा केन्द्रित भएर गरिने संघर्ष हो।जुन संघर्ष परिवर्तन सँग जोडिएको हुन्छ ।परिवर्तनका लागि गरिने संघर्ष नै आन्दोलन हो।आन्दोलनका स्वरुप,तरिका र माध्यम फरक हुन सक्छन तर आन्दोलनको अन्तिम गन्तव्य परिवर्तन नै हो।आन्दोलनले परिवर्तनको मार्गचित्र कोर्ने काम गर्दछ । आन्दोलनहरु राजनैतिक,शासकीय,आर्थिक ,सामाजिक ,आर्थिक विषयका भए पनि ती प्रत्येक आन्दोलनहरुको गन्तव्य परिवर्तन नै हो।हरेक क्षेत्रमा गरिने प्रत्येक आनदोलनको मुल मर्म यथास्थितीमा ल्याईने बदलाव नै हो। हाम्रो मुलुकका सन्दर्भमा हामीले हाल सम्म प्राप्त गरेका आर्थिक,सामाजिक, राजनैतिक तथा साँस्कृतिक परिवर्तनहरुको श्रेय हाम्रा विगतका आन्दोलनहरुलाई जान्छ।

नेपालमा भएका शासक बिरुद्दका आन्दोलनरुले शासन व्यवस्थामा परिवर्तन ल्याउन मद्दत गरे भने कतिपय अन्य आन्दोलनहरुले आर्थिक,सामाजिक तथा साँस्कृतिक क्षेत्रको रुपान्तरणमा योगदान पुर्याएका छन्। वि.स.२००७ साल पुर्वको राणा बिरोधी आन्दोलन ,सो पश्चातको पञ्चायत बिरुद्दको आन्दोलन र वि.स. ०६२/०६३ सालको जनआन्दोलन सम्मका प्रत्येक आन्दोलनहरुले राजनैतिक साथै सामाजिक तथा साँस्कृतिक परिवर्तनका पक्षमा केन्द्रित भएर गरिएका आन्दोलनहरुको श्रेणीमा उच्चकोटीका आन्दोनलहरुमा मुल्याङ्कन गरिन्छन्।हाम्रा अहिलेका थुप्रै उपलब्धीहरु तिनै महत्वपुर्ण मानिएका आन्दोलनहरुले प्रदान गरेका अवसरका रुपमा लिन सकिन्छ।विगतका सबै खाले आन्दोलनहरु राजनैतिक नेतृत्वबाट राजनैतिक परिवर्तनका लागि गरिएको भए पनि ति प्रत्येक आन्दोलहरुका पछाडी आम जनताको जिवनस्तरमा आमुल परिवर्तन ल्याउने महाअभियान थिए भन्दा फरक पर्दैन।तर पछिल्लो समय दोस्रो जन आन्दोलनको लहरले ल्याएको अग्रगामी परिवर्तन पश्चात हाम्रो मुलुकको परिवर्तनकारी आन्दोलन सुस्ताएको जस्तै देखिन्छ। परिवर्तनकारी विचारहरुको प्रवाहमा शिथिलता आएको जस्तै भएको छ।हाम्रा आनदोलनका लहरहरु पातलिए जस्तै भएका छन्।हाम्रो आन्दोलनकारी विचारमा ह्रास आए जस्तै भएको छ।आन्दोलनलाई जिवन्त राख्नु भनेको परिवर्तिनशिल बिचारको प्रवाहलाई जिवन्त राख्नू हो ।परिवर्तनकारी विचार जिवित रहे सम्म हाम्रो देश,समुदाय र समाजको विकासको लागि आवश्यक मार्गहरु निर्वाद रुपमा खुल्ला हुन्छन र परिवर्तनले सहजै फड्को मार्दछ । त्यसैले हाम्रो आन्दोलनहरुको उचाई घट्नु हुँदैन।यसलाई बढाउनुपर्छ ।
आन्दोलन किन आवश्यक छ?




समाजमा नवप्रवर्तन ल्याउने महत्वपुर्ण आधार आन्दोलन हो।आनदोलन सामाजिक विकासको लय हो। आन्दोलनले हाम्रा आवाजहरुलाई साशकको कानसम्म र दरबार सम्म सहजै पुर्याउन मद्दत पुर्याउँछ।हाम्रो विकासको उत्कट चाहनालाई आम जनसमुदाय माझ पुर्याउन मद्दत गर्दछ।हाम्रा विचारहरुमा गतिशिलता प्रदान गर्दछ। समाज विकासको आधार तयार गर्नेमा महत्वपुर्ण भुमिका निर्वाह गर्दछ।आन्दोलनका क्षणहरु कठिन भए पनि आन्दोलले स्थापित गरेका विकासका मानकहरुले आम जन समुदायको जिवनमा सहजता र सरलता ल्याउन सहयोग गर्दछ।आन्दोलनहरु शासकहरुका लागि थुप्रै खालका चुनौतीहरुको पहाड बनेर उदाए पनि आम सर्वसाधारणका लागि अवसरहरु बोकेर उदाउने बिहानी बनेर हुर्किन्छन्।
आन्दोलनहरुबाट हामीले के पायौ ?
हाम्रो देशमा विभिन्न कालखण्डमा र विभिन्न चरणहरुमा ठुलाठुला परिवर्तनकारी आन्दोलनहरु भए। ति आनदोलनहरुले जनताको अधिकार स्थापित गर्न मद्दत पुर्याए।लोकतन्त्र र न्याय व्यवस्थामा सुधार तथा रुपान्तरण ल्याउने कामहरु गरे।शासन व्यवस्थामा रुपान्तरणहरु ल्याउँदै जनतालाई शासकिय अभ्यासमा प्रत्यक्ष जोडिने अवसरहरु प्रदान गरे।हाम्रो लैङ्गिक असमानता र क्षेत्रिय विभेदहरुको अन्य गर्दै विगतमा भएका र गरिएका विभेदपुर्ण व्यवहारहरुमा सुधारको थालनी गर्ने प्रणय व्यक्त भयो।जनताका प्रतिनिधिहरुले आफ्नो मुलुकको संविधान आफै निर्माण गर्ने अवसर जुट्यो।मुलुकको दिर्घकालीन राजनैतिक,आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासको आधारहरु तयार भए।मुलुकको शासन व्यवस्थामा आम सर्वसाधारणको समेत सहज तथा समान पहुँचको सुनिश्चिता गरियो।शासकिय निरंकुशताको अन्त्य गर्दै जननिर्वाचित शासकीय व्यवस्थाको संवैधानिक प्रवन्ध गरियो।आवधिक निर्वाचन तथा बालिग मताधिकारको सुनिश्चितता भयो।राज्यका सबै नियकायहरुमा सबै वर्ग क्षेत्रको समानुपातिक सहभागिताको ग्यारेन्टी गरियो।सिमान्तकृत तथा अल्पसंख्यकहरुले राज्यका निकायहरुमा पहुँच राख्ने व्यवस्थाहरुको प्रबन्ध भयो।जहानिया राणा शासनको अत्य गर्दै सक्रिय राजतन्त्रको अत्न्य समेत हाम्रै आन्दोलनहरुको बलले सम्भव भएको थियो ।
आन्दोलनको वर्तमान अवस्थाः-
विगतमा हाम्रो देशका प्रत्येक शहर,चोक,गल्लीहरुमा आन्दोलनहरु लहरहरु चलिरहेका हुन्थे। साहित्यकार,लेखक,कवि,प्राध्यापक,विद्यार्थी,बुद्दिजिवि सबैले आ-आफ्नो क्षेत्रबाट आन्दोलनलाई बल पुग्ने गरी बिचार,धारणा र आलोचनात्कम चेतनाको विकासका लागि काम गरि रहेका हुन्थे। सबैलाई समाज र देशको परिवर्तनको हुटहुटिले पिरोली रहेको हुन्थ्यो।विगतका आन्दोलनहरुमा सबैले सामुहिक आवाज बोकेर हिड्थे। सबैले परिवर्तनकारी विचारहरुको भारी बोकेर हिँड्थे र त्यही भारीलाई आन्दोलनको बैसाखी टिकाएर परिवर्तनको ज्वारभाटा ल्याउन सफल हुन्थे । तर पछिल्लो समय हाम्रो आन्दोलन सिथिल हुँदै गएको छ। आन्दोलनहरु माथी राजनैतिक रंग पोतियो। स्वत्नत्र आन्दोलनहरु माथी पनि स्वार्थ समुहको दवदवा कायम रह्यो।प्रत्येक आन्दोलनहरुमा भिजिलान्तेहरुको निर्बाद प्रवेश भयो र आन्दोलनहरुलाई कमजोर पार्ने षडयन्त्रहरु चल्न थाले। नागरिक समाज समेत राजनैतिक रंगले पोतियो।व्यक्ति ,समुदाय र क्षेत्र विषेशको फाईदाको लागि आन्दोलनहरुलाई प्रयोग गरिए।आन्दोलनको नेतृत्व गर्नुपर्ने बिचारहरुमा बिचलन पैदा भयो।परिवर्तनको चाहनालाई गौण गरियो। यो मुलुकमा जे गरे पनि केहि हुँदैन भन्ने भाष्यको सिर्जना गरियो।ठुला राजनैतिक दलहरुको शासकीय चाहनाले आन्दोलनले केहि हुँदैन। जनताको आन्दोलन शक्तिहिन हुन्छन्।हाम्रा विगतका आन्दोलनहरु फगतमा गरिए भन्ने मानसिकताको विकास गरियो।समग्रमा भन्नुपर्दा परिवर्तनकारी शक्तिमा परिवर्तन प्रतिको उत्कट प्रेम लाई भंग गरियो। आन्दोलनलाई उचाई दिने वैचारिक स्पष्टता माथी प्रश्नहरु गरिए र जसको कारणले हाम्रो आन्दोलनको उचाई क्रमश घट्दै गयो।यसका पछाडी हाम्रा आम सञ्चार,राजनैनिक दलहरु,भिजिलान्ते बुद्दिजिविहरु,विचार बिहिन नागरिक समाजहरु र ईन्ट्रेस्ट ग्रुपहरुको संयुक्त प्रयास जारी रहेको छ।फलस्वरुप हाम्रा बिचार प्रवाह हुने मञ्चहरु,विचार प्रदर्शन हुने सडक गल्ली र चोकहरु बिचारविहिनता सँगै आन्दोलन विहिन हुन पुगेका छन्।
आन्दोलनको अबको बाटोः
सामाजिक विकासक्रमको मुख्य आधार मानिने आन्दोलन पछिल्लो डेढ दशकको समयमा सिथिल भएको छ।हाम्रो देशको सामाजिक तथा राजनैतिक आन्दोलनहरुले यहाँको अवस्था र व्यवस्थामा ल्याउने परिवर्तनको फैलावट साँघुरिदै गएको देखिन्छ।हाम्रा परिवर्तनका मुद्दा समाप्त भएका हुन ? वा हामी परिवर्तन वा अग्रगमनको आन्दोलन बाट थाकेर यथास्थितिलाई स्विकार गर्दै बसेका हौ ? भन्ने जवरजस्त प्रश्नहरु हाम्रा अगाडी पहाड बनेर उभिएका छन्।
संघियताका तमाम कमजोरीहरु,शासकहरुका तमाम गद्दारी र बेइमानीहरुले चरम सीमा नाघ्दा समेत हाम्रो आन्दोलनको उचाईले गति लिन नसकेको स्थिति छ।जनतामा चरम निराशाको स्थिति र राजनैतिक दलहरुप्रति ब्यापक बितृष्णा उत्पन्न भएर पनि सबै सहजै सहेर बसेको अवस्था छ।मुलुकको दिर्घकालीन आर्थिक विकासका साथै आम जनताको जिवनस्तरमा आमुल परिवर्तन ल्याई मुलुकको समग्र क्षेत्रमा गुणात्मक सुधारहरु ल्याउनु पर्ने आवश्यकता रहेको छ। विभिन्न खालका बिकृति बिसङ्गती र अन्यायले बिघ्न सीमा नाघेको अवस्था छ।जनताका सार्वजनिक सरोकारका मुद्दामा सबै तहका सरकारहरु मौन छन् । मुलुकको साधन स्रोतको व्यापक दुरुपयोग गरी व्यक्तिगत मुनाफा र फाईदाकोको लागि राज्य तथा शक्तिको दोहन गरिएको स्थिति छ।दुरदराजका जनता राज्यको आधारभुत सेवा सुविधा बाट समेत बञ्चितिकरण र विभेदमा परेका छन् । यी र यस्तै दर्जनौ बेथिति र अन्याय अत्याचारको बिरुद्द उभिन सक्ने आन्दोलनको आवश्यकता रहेको छ । परिवर्तनका लागि प्रवाह गरिने विचारको शुन्यता भयो भने समाजको बृहत्तर विकासमा अवरोध भएको भान हुन्छ । हाम्रा परिवर्तनहरुले ल्याएका नतिजाहरुमा हाम्रो चित्ता दुखाई गर्नु पर्ने कुनै कारण छैन ।
हाम्रा विगतका आन्दोलनहरु विश्वमै सबैभन्दा विशिष्ट राजनीतिक चेतना बोक्ने आन्दोलनहरु थिएँ । हामीले ती आन्दोलनहरुका लागि गरेको त्याग, लगन र आदर्शले आज हामीलाई परिवर्तनको यो स्थानमा पुरयाएको कुरा हामीले भुल्नु हुँदैैन । हाम्रा विगतका बौद्धिक बहसहरुले हामीलाई भविष्यको आन्दोलनप्रतिको धारणा विकासमा मद्दत पुर्याउने भएकोले हाम्रो बौद्दिक बहसहरुका मञ्च अब खुल्ला गरिनुपर्छ ।
हाम्रो सामाजिक तथा राजनैतिक आन्दोलनको उचाई घटाउने काम हुनु हुँदैन। हाम्रो अस्तितव भए सम्म समाजिक विषयहरुलाई उठान गर्दै परिवर्तनका लागि दवाव सिर्जना गर्नु र परिवर्तनका लागि बिचार प्रवाह गर्दै परिवर्तनकारी चेतनाको आयतन बढाउनु पर्ने आवश्यक देखिन्छ । सामाजिक,आर्थिक ,राजनैतिक तथा वातावरणीय विषयमा समेत हामीले वर्तमान बेथिती र कुकृत्यका बिरुद्द शशक्त प्रतिरोध गर्ने र परिवर्तनका पक्षमा आन्दोलनमा उभिन सक्ने गरी आफुलाई तयार गर्नु पर्ने देखिन्छ । यद्यपि हामीले हाम्रो चेतन मनलाई परिवर्तनको पक्षमा वकालत गर्न र बिकृती,विसङ्गती बिरुद्द उभिन आह्वान गरेनौ भने थुप्रै सकारात्मक तथा परिवर्तनकारी आवाज र आन्दोलनहरु मनभित्रै तुहिएर खरानी हुनेछन् र समाजले रुपान्तरणका लागि अझै लामो समय प्रतिक्षा गर्नुपर्ने हुन सक्छ। ती प्रतिक्षाका घडीहरु समाज र राष्ट्रका लागसि निकै टाढा पनि हुन सक्छन। त्यो प्रतिक्षाले कुनै युग सम्म कुर्नु पर्ने पनि हुन सक्छ। त्यसैले तपाई हामी प्रत्येक चेतनशील प्राणीले सामाजिक तथा राजनैतिक परिवर्तनका लागि हाम्रो चेतनालाई एक कदम अगाडी बढाई मुलुकको रुपान्तरणको आन्दोलनको अग्रणी मोर्चा सम्हाल्नुपर्ने देखिन्छ।
आन्दोलन लाई जिवनको परिपुरकका रुपमा विकास गर्नुपर्छ। जीवनका हरेक घट्नाक्रम आन्दोलन र परिवर्तन सँग जोड्नुपर्छ।हाम्रा आन्दोलनहरु सामाजिक तथा राजनैतिक परिवर्नत र अग्रगमको बाटोमा केन्द्रित हुनुपर्ने देखिन्छ। जसले जनताको जिवनस्तरमा आमुल परिवर्तन ल्याउन मद्दत पुगोस र हाम्रा आन्दोलनहरुको उचाई बढाउँदै परिवर्तनकारी बिचारहरु लाई जिवन्त बचाईरहोस्। हामीले विगत देखि नै परिवर्तनकारी आदर्श र सपनालाई पछ्याउँदै आएका हुनाले शासक र शासन बिरुद्दका आन्दोलनहरु प्रति हाम्रो कुनै भय हुनु हुँदैन।हामीले निर्भिकतापुर्वक देश,जनता र समाजका लागि हाम्रा आगामी आन्दोलनहरुको मार्ग तयार गर्नुपर्छ ।


































