
सिद्धार्थ हस्पिटालिटीले धनगढीमा पाँचतारे होटल निर्माण गर्ने घोषणा गरेको छ। १९९८ मा कैलाली टीकापुरबाट सामान्य होटलका रूपमा सुरु भएको यो कम्पनीले देशभरि सेवा विस्तार गरिरहेको छ।

कम्पनीले आफ्नो २७औँ वार्षिकोत्सव मनाउने क्रममा धनगढीमा पाँचतारे होटल सञ्चालन गर्ने योजनाबारे जानकारी गराएको हो। सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ कृष्ण न्यौपाने) का अनुसार, मुलुकको पर्यटन प्रवर्द्धन गर्दै ‘भिजन २०३०’ अन्तर्गत स्वदेश तथा विदेशमा ५८ होटल तथा आउटलेट सञ्चालन गर्ने लक्ष्य छ।
सिद्धार्थ हस्पिटालिटीले भारतमा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको छ भने इलाममा लक्जरी रिसोर्ट निर्माण गर्ने योजना पनि अगाडि बढाएको छ। हाल समूह अन्तर्गत सिद्धार्थ भिलासा (पाँचतारे), सिद्धार्थ वैभव (चारतारे), सिद्धार्थ बाटिका (तीनतारे) ब्रान्डमा होटलहरू सञ्चालनमा छन्।
सिद्धार्थ हस्पिटालिटीमा अहिले २,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। कम्पनीले पर्यटन क्षेत्रलाई थप विस्तार गर्दै एस होटल, सिद्धार्थ कटेज र सिद्धार्थ क्याफे जस्ता सेवा पनि विस्तार गरिरहेको छ।


























