
अत्तरिया : प्रधानमन्त्री केपी शर्मा ओलीले यहि वर्षबाट नेपालको पहिलो मेडिकल विश्वविद्यालय गेटमा सञ्चालनमा आउने घोषणा गरेका छन् । उक्त घोषणा प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधनमा गरेका हुन् ।

उनले मेडिकल विश्वविद्यालय स्थापनासँगै नेपालमा चिकित्सा शिक्षाको पहुँच विस्तार भई गुणस्तरीय अध्ययन गर्न सहज हुने बताएका छन् । प्रधानमन्त्री ओलीका अनुसार यस मेडिकल विश्वविद्यालयको स्थापना प्रक्रियालाई तीव्रता दिइएको छ र आगामी शैक्षिक सत्रदेखि औपचारिक रूपमा पठनपाठन सुरु गरिनेछ । यस विश्वविद्यालयमार्फत नेपालमै उच्चस्तरीय मेडिकल अध्ययनको अवसर सिर्जना हुने विश्वास गरिएको छ ।
प्रधामन्त्री ओलीले सुदूरपश्चिम सम्भावनाले निकै अगाडि रहेको बताए । सुदूरपश्चिम सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नुपर्छ ।’


दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लाग्नु पर्ने उनको भनाइ थियो । दार्चुला उत्तरी क्षेत्रसम्म पुग्न सकस भएको भन्दै छाङग्रुसम्म पुग्ने सडक निर्माण सुरु गरिएको बताए । ‘अहिले पाँच करोड विनियोजन गरेका छौं । पारीको बाटोबाट जाँदा नेपालीहरुले दुःख पाएका छन् । अहिले गोरेटो बाटो निकालेपछि पक्की सडकको लागि बजेट विनियोजन गरेर तक्लाकोटसम्म जाने बाटो बनाउँछौं’, उनले भने ।
पञ्चेश्वर परियोजनाको अगाडि बढाउन भारतसँग छलफल भइरहेको प्रधामन्त्री ओलीले बताए । आफू प्रधामन्त्री हुँदा मुलुकमा विकासले गति पाइरहेको उनले भनाइ थियो । हुलाकी सडक, दोधारा चाँदनी औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह निर्माण प्रारम्भ गरेको प्रधामन्त्री ओलीले बताए । सुदूरपश्चिम देव भूमि रहेको भन्दै उनले यहाँका मोठमंदिर, धार्मिक क्षेत्र पौराणिक क्षेत्र सबैको महत्व रहेको बताए ।





























