
बाजुराको जगनाथ गाउँपालिका–६ काप्रेमा जिउँदै गाईलाई ढुंगाले हानेर नदीमा बगाइएको घटनाको भिडियो भाइरल भएको छ। भिडियोमा स्थानीयहरूले कर्णाली नदीमा गाईलाई जबरजस्ती धकेल्दै, फर्किन खोज्दा ढुंगा हानेर लखेटिरहेको दृश्य देख्न सकिन्छ।

शनिबार स्थानीय पत्रकार धनबहादुर बीसीले यो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटनाले व्यापक चर्चा पाएको छ। उनका अनुसार स्थानीय साउने सार्कीको मृत्यु भएपछि मलामी गएका व्यक्तिहरूले गाईलाई नदीमा बगाएका थिए। यो घटना धार्मिक परम्पराको नाममा भइरहेको बताइएको छ।
‘गाउँमा कसैको मृत्यु भएपछि गाईलाई नदीमा डुबाएर गौदान दिने परम्परा छ, जसले पापमुक्त बनाउने विश्वास गरिन्छ,’ बीसीले बताए।


जगनाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीका अनुसार यस परम्परा केही समय रोकिएको भए पनि अहिले फेरि दोहोरिएको छ। ‘मलाई पछिल्लो घटनाको जानकारी थिएन, तर यस्तो अभ्यास पहिले पनि हुँदै आएको हो,’ उनले भने।
यो घटनाले सामाजिक सञ्जालमा चर्को आलोचना पाएको छ भने गाईमाथि भएको अमानवीय व्यवहारको निन्दा गरिएको छ।































