
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण कोशी, मधेस प्रदेश तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।

आज दिउँसोको अवस्था:
कोशी, लुम्बिनी, मधेसलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहँदै मौसम मुख्यतः सफा रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज रातिको अवस्था:
राति कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।

सतर्कता अपनाउन आग्रह
कोशी, मधेस, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेकोले यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।































