
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरेको छ। गुजरातको यो पहिलो जित हो भने मुम्बईले लगातार दोस्रो हार बेहोरेको छ।

टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनायो। शाही सुदर्शनले सर्वाधिक ६३ रन बनाए। जोश बटलरले २४ बलमा ३९ रन जोड्दा कप्तान शुभमन गिलले ३८ रन बनाए। शेर्फेन रदरफोर्डले १८ रनको योगदान दिए। मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए भने ट्रेन्ट बोल्ट, दीपक चाहर, सत्यनारायण राजु र मुजिब उर रहमानले समान एक-एक विकेट लिए।

१९७ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ६ विकेट गुमाएर १६० रनमै समेटियो। सूर्यकुमार यादवले ४८ रन बनाए भने तिलक वर्माले ३९ रन जोडे। नमन धीर र मिचेल सान्टनेरले समान १८ रन बनाए। कप्तान हार्दिक पाण्ड्याले ११ रनमा सीमित भए। गुजरातका मोहम्मद सिराज र प्रशिद्ध कृष्णले दुई-दुई विकेट लिए भने कागिसो रबाडा र शाई किशोरले एक-एक विकेट हात पारे।

आईपीएल अन्तर्गत आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स भिड्नेछन्।





























