
थाइल्याण्डका राजा बजिरालोङकर्नसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन बैंकक पुगेका हुन्। यस क्रममा उनले थाइल्याण्डका राजासँग भेटवार्ता गरेका हुन्। राजदम्पतीले प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यलाई राजदरबारमा स्वागत गरेका थिए।

यसअघि प्रधानमन्त्री ओलीले थाइल्याण्डका समकक्षी पे थोङ् थान् शिनावात्रासँग दुईपक्षीय भेटवार्ता गरेका थिए। सो अवसरमा नेपाल र थाइल्याण्डबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राको निमन्त्रणामा प्रधानमन्त्री ओली यही चैत १९ गते बैंकक आएका हुन्। भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत रहेका छन्।





























