
अत्तरिया : सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र अछामका ६० महिलामा स्तर तथा पाठेघरको क्यान्सर भएको आंशका गरिएको छ । स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर क्यान्सर हस्पिटलले गरेको क्यान्सर स्क्रीनिङका क्रममा ६० जनामा क्यान्सरको आशंका गरिएको हो ।

दुवै जिल्लामा चार सय १० जनाको पाठेघरको क्यान्सरको स्क्रीनिङ गरिएकोमा २५ जनामा संक्रमणको आशंका गरिएको स्क्रीनिङ शिविरकी संयोजक समेत रहेकी भक्तपुर क्यान्सर हस्पिटलकी प्रशासकीय अधिकृत राजमती गोसाइँ जानकारी दिइन् ।
उनका अनुसार डडेल्धुरा र अछामका पाँच सय २० जनामा स्तन क्यान्सर सम्बन्धी स्क्रीनिङ गरिएको थियो । मध्ये ३५ जनामा स्तन क्यान्सर भएको हुनसक्ने आशंका गरिएको गोसाईले बताइन् । तीन जना विशेषज्ञ चिकित्सकसहित नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारी समेत गरेर २१ जनाको टोली क्यान्सर स्क्रीनिङका लागि सुदूरपश्चिम आइपुगेको थियो ।

२२ चैतमा अछामको रामारोशन गाउँपालिका–३ को मुजाबगरमा शिविर चलाएको थियो । सो क्रममा दुई जना ११ र १२ वर्षीया बालिकामा समेत पाठेघरको क्यान्सरको आशंका गरिएको प्रशासकीय अधिकृत गोसाईँले बताईन् ।

अछाममा मात्र पाठेघरको क्यान्सरको स्क्रीनिङ गरेका दुई सय ६० मध्ये पाँच जना र स्तन क्यान्सरको स्क्रीनिङ गरिएका तीन सय ५० जना मध्ये १५ जनामा संक्रमणको आशंका गरिएको छ । डडेल्धुरामा पाठेघरको क्यान्सरको स्क्रीनिङ गरेका एक सय ५० जना मध्ये २० जना र स्तन क्यान्सरको स्क्रीनिङ गरिएका एक सय ७० जना मध्ये २० जनामा आशंका गरिएको छ । डडेल्धुरामा १६ वर्षीया किशोरीमा समेत पाठेघरको आशंका गरिएको छ ।
क्यान्सर हस्पिटलको टोलीले डडेल्धुरा अस्पतालमा आइतबार स्क्रीनिङ शिविर राखेको थियो । क्यान्सरको आशंका गरिएका बालिका, किशोरी तथा महिलालाई हस्पिटलले आवश्यकता आधारमा निःशुल्क औषधी समेत वितरण गरेको छ भने उनीहरुलाई विस्तृत परीक्षणका लागि सुझाव दिइएको छ । शिविरकी संयोजक तथा क्यान्सर हस्पिटलकी प्रशासकीय अधिकृत राजमती गोसाईले शिविरमा स्तन तथा पाठेघरको क्यान्सरको आशंका गरिएका बालिका तथा महिलाहरुलाई स्थानीय तह वा सम्बन्धीत वडाको सिफारिसमा हस्पिटलमै निःशुल्क विस्तृत परीक्षणको व्यवस्था समेत मिलाइने बताइन् । त्यसका लागि सम्बन्धीत वडा वा कार्यपालिकाको सिफारिस भने अनिवार्य गरिएको छ ।
शिविर अन्तरगत मंगलबार कैलालीको बर्दगोरियास्थित दोदोधरा अस्पतालमा क्यान्सर स्क्रीनिङ शिविर राखिएको छ । यसैबीच, डडेल्धुरा र अछाममा क्यान्सरको स्क्रीनिङ शिविर सम्पन्न गरेर फर्किएको भक्तपुर क्यान्सर हस्पिटलको टोलीलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भेटेका छन् । उनले प्रदेश सरकारको आग्रह स्वीकार गरेर यहाँ पुगेर महिलाहरुको स्तन र पाठेघरको क्यान्सरको स्क्रीनिङ शिविर चलाएकोमा धन्यवाद दिएका छन् ।
शाहले सुदुरपश्चिमका महिलाहरुमा आँङ्ग खस्ने, पाठेघर र स्तन क्यान्सरको समस्याले पीडा भोग्नुपर्ने अवस्था रहेको बताउँदै शिविरमा क्यान्सरको आशंका गरिएकाहको थप परीक्षण तथा उपचारमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।





























