
नेपालमा प्रजातन्त्र पुनःस्थापनाको ऐतिहासिक दिनको अवसरमा आज विभिन्न कार्यक्रमहरू आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ। विसं २०४६ सालको यही दिन ३० वर्षसम्म कायम रहेको पञ्चायती शासनको अन्त्य गर्दै देशमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना गरिएको थियो।

विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्था विसं २०४६ चैत २६ गते जनआन्दोलनको बलमा समाप्त भएको थियो। नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले सञ्चालन गरेको जनआन्दोलनको सफलतासँगै उक्त परिवर्तन सम्भव भएको हो।

जनआन्दोलनको नेतृत्व नेपाली कांग्रेसका वरिष्ठ नेता गणेशमान सिंह ले गरेका थिए। आन्दोलन विसं २०४६ फागुन ७ गते, अर्थात् नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरण गर्दै सुरु गरिएको थियो। लगातार ५० दिनसम्म चलेको आन्दोलन अन्ततः सफल भई विसं २०४६ चैत २६ मा तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गर्नुभएको थियो।

यस दिनलाई सम्झनाका रूपमा प्रत्येक वर्ष चैत २६ गते देशभर विविध कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस का रूपमा मनाउने गरिन्छ। यस वर्ष पनि विभिन्न राजनीतिक दल, नागरिक समाज, तथा अन्य संघ–संस्थाहरूले जनसभा, ¥याली, गोष्ठीलगायतका कार्यक्रम आयोजना गरी यो दिन मनाउँदैछन्।
































