
धनगढी: धनगढी उपमहानगरपालिका–४ मा रहेको नवजीवन अस्पतालले सेवा विस्तार गर्दै विभिन्न विशेषज्ञ सेवा सुरु गरेको छ। अस्पतालले हार्मोन रोग, मानसिक स्वास्थ्य, र नाक–कान–घाँटीसम्बन्धी उपचारका लागि नयाँ सेवा सञ्चालनमा ल्याएको छ। साथै, स्त्री तथा प्रसूति रोग विभागमा चिकित्सकको सङ्ख्या पनि वृद्धि गरिएको छ।

अस्पतालमा नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम पनि सञ्चालनमा रहेको छ। पहिलेबाट नै प्रस्तुति विशेषज्ञ डा. जयराम केसीले सेवा दिइरहेका अस्पतालमा हालै स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. वरुण राई नियुक्त भएका छन्। सेवाग्राहीको चाप बढेसँगै यो नियुक्ति गरिएको अस्पतालले जनाएको छ।

त्यसैगरी, डा. कृष्ण ऐर ले हार्मोन (एन्डोक्राइन) रोग विशेषज्ञ सेवा सुरु गरेका छन्। उनले मधुमेह, गर्भकालीन मधुमेह, थाइराइड, पाराथाइराइड ग्रन्थिको समस्या, महिनावारीमा गडबडी, हार्मोनको असन्तुलन, मोटोपन, र हार्मोन प्रतिस्थापनजस्ता समस्याको परीक्षण तथा उपचार सेवा प्रदान गरिरहेका छन्।

मनोचिकित्सक डा. अनूप देवकोटा को अगुवाइमा अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा पनि सुरु गरिएको छ। उनले तनाव, चिन्ता, निद्रा नलाग्ने, आत्महत्याको प्रयास, तथा बालबालिकामा देखिने असामान्य व्यवहारलगायत समस्या भएकालाई औषधि र मनोवैज्ञानिक उपचार प्रदान गरिरहेका छन्। आत्महत्या प्रयास गर्ने बिरामीलाई आपत्कालीन सेवा समेत दिइने उनले बताएका छन्। सुदूरपश्चिममा मनोरोगीहरूको सङ्ख्या उल्लेख्य भएको पनि डा. देवकोटाले बताएका छन्।
नाक, कान र घाँटी (ENT) रोग विशेषज्ञ डा. इन्द्र उपाध्याय ले अस्पतालमा पहिलेदेखि नै सेवा दिँदै आएका छन्। उनले कान दुख्ने, पानी आउने, सुन्न नसक्ने, घाँटी दुख्ने, एलर्जी, टन्सिल, सास फेर्न गाह्रो हुनेजस्ता लक्षणको उपचार गर्दै आएका छन्।
नवजीवन अस्पतालको सेवा विस्तारले सुदूरपश्चिमका बासिन्दालाई आधुनिक स्वास्थ्य सेवा पाउन सहज भएको छ।





















