
देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावस्वरूप अहिले देशभर आंशिकदेखि सामान्य बदली देखिएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित पहाडी भूभागका केही स्थानमा र अन्य क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ।


आज राति:
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। ती प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात पनि हुन सक्छ।
महाशाखाले चट्याङ्गसहितको वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।































