
बाजुरा : जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । जिप दुर्घटनामा परी बुढीनन्दा नगरपालिका–२ का अन्दाजी २५ वर्षका नन्द बहादुर तिरुवा र अन्दाजी २२ वर्षीया लोकेन्द्र तिरुवा घाइते भएका थिए । घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको हो ।

घाइतेलाई घटनास्थलबाट कोल्टी अस्पतालमा उपचारका लागि एम्बुलेन्स मार्फत ल्याईएको भएपनि गम्भिर चोट लागेको भएपछि कोल्टी अस्पताल बाजुराको समन्वय तथा नागरिक उड्ययन तथा संस्कृत पर्यटन मन्त्रालयको पहलमा थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो ।


जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटना हुँदा टेलिकमका कार्यालय प्रमुख लोक बहादुर खड्का, कर्मचारी रवीन्द्र धामी र जीप चालक कर्णबहादुर महताराको घटना स्थलमै मृत्यु भएको छ ।
नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप सडकबाट अन्दाजी ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

















