
नेपालमा यो वर्ष मनसुन औसतभन्दा १३ दिन अगावै प्रवेश गर्ने पक्का भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दुई दिनभित्र देशमा मनसुन सक्रिय हुने सम्भावना प्रबल छ।

बङ्गलादेश, भुटान र भारतको पूर्वी भागमा मनसुन सक्रिय भइसकेकाले नेपालमा पनि चाँडै फैलिने देखिएको छ। सामान्यतया जुन १३ मा सुरु हुने मनसुन यसपटक प्रिमनसुनको अनुकूल वातावरणका कारण समयभन्दा पहिले नै सुरु हुँदैछ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार रातिबाटै विभिन्न स्थानमा वर्षा सुरू हुने सम्भावना छ। यस वर्ष औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ, जसले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपत् निम्त्याउने सम्भावना बढाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको कार्ययोजनाअनुसार चार लाख ५७ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

गृह मन्त्रालयको अध्यक्षतामा बुधबार बसेको कार्यकारी समितिको बैठकले उपत्यका क्षेत्र विशेष गरी चोभार गल्छी क्षेत्रमा हुने अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।
सरकारले विपद् सामना गर्न सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवी संयन्त्रहरू सक्रिय बनाउने तयारी गरेको छ। प्रत्येक वडामा २५ जना स्वयंसेवी परिचालन गरिनेछ भने डुङ्गा, डोरी, उद्धार सामग्रीहरू अग्रिम रूपमा तयारी अवस्थामा राखिनेछ।
जलवायु परिवर्तनका कारण मनसुन कहिले छिटो त कहिले ढिलो सुरु हुने अस्थिरता देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्राधिकरणले नागरिकलाई मौसम सूचना गम्भीरतापूर्वक लिन र सतर्क रहन आग्रह गरेको छ।




























