
मौसममा आएको बदलीसँगै देशका विभिन्न ठाउँमा परेको वर्षाले तापक्रममा क्रमशः गिरावट आउन थालेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी नेपालमा विगत दुई दिनदेखि अलि बढी वर्षा भएकाले तापक्रममा उल्लेखनीय गिरावट आएको हो।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार, “पूर्वी क्षेत्रमा तापक्रम घटिसकेको छ भने पश्चिमी नेपालमा अझै तातो भए पनि तापक्रम घट्ने क्रममा छ।” उहाँले पश्चिम क्षेत्रमा पूर्वको तुलनामा बढी गर्मी हुने जानकारी समेत दिनुभयो।
बुधबार साँझ जारी सूचनामा महाशाखाले कोशी र बागमती प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र मध्यमदेखि भारी वर्षासहितको अवस्था मापन गरिएको जनाएको छ। सो प्रणाली अहिले दक्षिण–पश्चिमतर्फ सर्दै गइरहेकोले गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


वर्षाको असर काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा देखिएको छ। यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने हुँदा तापक्रम अझै घट्ने मौसमविद्हरूको भनाइ छ।
यद्यपि देशभर एकै प्रकारको भारी वर्षा गराउने प्रणाली भने नरहेको, तर दिउँसोको समयमा गर्मीको अनुभव भने भइरहने मौसमविद् लामिछानेले जनाउनुभयो। महाशाखाले सतर्कता अपनाउन समेत आम नागरिकलाई अनुरोध गरेको छ।































