
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ, जसका कारण देशभर सामान्य बदलीको अवस्था छ।

कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेश तथा बाँकी तराई र केही पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।






























