
प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। यस कार्यक्रममा सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गतेदेखि पाँच दिने चीन भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूसँग दुईपक्षीय भेटवार्ता गरिरहेका छन्।
आजै उनको रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुने कार्यक्रम छ।


यसअघि आइतबार प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा आयोजित स्वागत समारोह र रात्रिभोजमा सहभागी भएका थिए। उक्त अवसरमा प्रथम महिला राधिका शाक्यसहितको नेपाली प्रतिनिधिमण्डल पनि सहभागी भएको थियो।
त्यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीबीच अनौपचारिक भेट भएको थियो। मोदीले उक्त भेटको तस्बिर आफ्नो सामाजिक सञ्जाल एक्स मा सार्वजनिक गर्दै नेपालका प्रधानमन्त्रीलाई भेट्न पाउँदा खुशी लागेको उल्लेख गरेका छन्।




















