
नेपाल आयल निगमले खाना पकाउने ग्यासको कुनै अभाव नभएको स्पष्ट पारेको छ। पछिल्ला दिनमा ग्यास अभावको हल्ला फैलिरहेका बेला निगमका प्रवक्ता मनोज कुमार ठाकुरले ग्याससहित सबै पेट्रोलियम पदार्थको नियमित आपूर्ति भइरहेको जानकारी दिए।

प्रवक्ता ठाकुरले ग्यास अभावको भ्रममा नपरी उपभोक्तालाई ढुक्क रहन आग्रह गर्दै भने, “ट्याङ्कर र ढुवानी गर्ने गाडीहरु चलिरहेका छन्, भारतबाट पेट्रोलियम पदार्थ नियमित आयात भइरहेको छ।”

ग्यास अभाव हुने हल्लाका कारण पसलहरूमा उपभोक्ताको भिड बढेको निगमले जनाएको छ। अति प्रज्वलनशील पदार्थ भएकाले खाना पकाउने ग्यासको सञ्चिती नगर्न चेतावनी दिँदै निगमले धेरै ग्यास जम्मा गर्दा दुर्घटनाको जोखिम बढ्ने र कृत्रिम अभाव उत्पन्न हुनेतर्फ सचेत गराएको छ।





















